प्रदेश–७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी

news
विपक्षी सांसदहरुको विरोधकाबीच प्रदेश नम्बर–७ को प्रदेशसभाले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरेको छ ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकले दुईतिहाइ बहुमतका आधारमा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो ।
कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने तेघरी सामुदायिक वनमा स्थायी राजधानीको टुंगो लगाइएको छ ।
प्रदेशको नाम र स्थायी राजधानीका विषयमा सुझाव दिन गठित समितिले दिएको प्रतिवेदनअनुसार नै प्रदेशसभाको दुईतिहाइले नाम र राजधानी टुंगो लगाएको हो ।
प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउनका लागि सत्तापक्षका प्रदेशसभा सदस्यलेमात्रै मतदानमा भाग लिएका थिए ।
प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य भने बैठक बहिस्कार गर्दै बाहिरिएका थिए ।
उनीहरु सदनबाट बाहिरिएपछि दुईतिहाइको आधारमा प्रदेशको नाम र स्थायी राजधानीको छिनोफानो गरिएको हो ।
प्रदेशसभामा जम्मा ५३ मध्ये सत्तापक्षका ३९ जना सांसद रहेका छन् । कांग्रेसका १२ र राजपाका दुईजना सांसद छन् ।
यसअघि, शुक्रबारै मध्याह्न १२ बजेको प्रदेशसभा बैठक प्रतिपक्षी कांग्रेसका सांसदले रोस्टम घेराउ गरेर अवरोध गरेपछि स्थगित गरिएको थियो ।
शुक्रबारै पुनः दिउँसो पौने ३ बजे बैठक सुचारु भएको थियो । दोस्रो बैठकबाट प्रदेशको नाम र राजधानीको प्रस्ताव पारित गरिएको हो । इमेजखबरमा समाचार छ ।