सालीकराम आचार्य
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ३८ लाख भारतीय नागरिकलाई नेपाली नागरिकता दिइएको दाबी गरेका छन्। सोमबार राजधानीमा आयोजित नागरिकता विधेयकसम्बन्धी अन्तक्र्रियामा अध्यक्ष केसीले भारतीय नागरिकलाई अबैध रुपमा नेपाली नागरिकता दिइएको दावी गरेका हुन्।
‘३८ लाख भारतीयले नेपाली नागरिकता पाएका छन्। अरु थप २३ लाखलाई दिने तयारी भइरहेको छ’, अध्यक्ष केसीले भने, ‘अंगिकृत नागरिकलाई संवैधानिक तथा कार्यकारी प्रमुख हुन पाउने प्रावधान बनाउने प्रयास भइरहेको छ। यसले नेपाललाई भारतमा विलय गराउने प्रक्रियालाई छिटो गराउने छ।’
भारतीयलाई दिइएका नेपाली नागरिकता तत्काल खारेज गर्न सरकारसँग केसीले मागसमेत गरेका छन्। उनले शक्तिशाली नागरिकता छानवीन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन्।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतीय नागरिकलाई नागरिकता दिने काम भइरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरेका छन्। उनले भारतले नेपालमा वंशजको आधारमा आफ्ना नागरिकलाई नागरिकता दिलाउन कर्मचारीहरुलाई समेत प्रयोग गर्न सक्ने आशंकासमेत पनि व्यक्त गरे। ‘हाम्रो सानो देश दुई ठुला देशको बीचमा रहेको कुरा हामीले सँधै ध्यानमा राख्नुपर्छ’ केसीले भने ।
विधेयक सच्याउन खनालको आग्रह
यसैबीच, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याएको नागरिकता ऐनसम्बन्धि विधेयकप्रति असन्तुष्टि जनाएका छन् । संघीय संसदमा विचाराधिन विधेयक त्रुटिपूर्ण रहेको उल्लेख गर्दै उनले त्यसलाई सच्याउन सरकार र संसदलाई खवरदारी गर्न पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे । खनालले संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय हितलाई प्रवद्र्धन गर्न पनि संघीय संसद र सरकारले विधेयक सच्याउनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
वरिष्ठ नेता खनालले नागरिकता दिने कामलाई सरकारले सचेत ढंगले अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए । उनले नागरिकता वितरणसम्बन्धि हालको विवाद समाधान गर्न राष्ट्रिय बहसकै आवश्यकतामा पनि जोड दिए ।