प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले प्रतिकिलो चिनीको मूल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार समितिको कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले सरकार र चिनी उद्योगी तथा व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार प्रतिकिलो चिनीको मूल्य ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
चाडपर्वका बेला चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीमाथि कारबाही गर्नसमेत समितिले निर्देशन दिएको छ ।
समितिले चिनीलगायतका दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका सम्बन्धमा छानबिन गरी समस्या समाधानका लागि सरकारलाई निर्देशन दिन उपसमिति गठन गरेको छ ।
समितिका सदस्य लेखराज भट्ट नेतृत्वको उपसमितिमा प्रेम आले, पार्वता डिसी चौधरी, चन्दा चौधरी र प्रदीप यादव सदस्य छन् । उपसमितिलाई ७ दिनभित्र आफ्नो प्रतिवेदन समितिमा पेस गर्ने कार्यादेश दिइएको छ ।
यस्तै, समितिले सरकार र चिनी उद्योगीबीच उखु किसानको बक्यौता रकम १५ दिनभित्र उपलब्ध गराउने सहमति यथाशीघ्र कार्यान्वयन गराउन पनि सरकारलाई निर्देशन दिएको छ । इमेजखबरमा समाचार छ ।