सम्झनामा चक्रप्रसाद बास्तोला

news
गएराति निधन भएका नेपाली कांग्रेसका दिवंगत नेता चक्रप्रसाद बाँस्तोलाको आज अन्त्येष्टि गरिएको छ ।  नेता बाँस्तोलाको आज अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । 
६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बास्तोलाको गएराति आफ्नै निवास खुमलटारमा निधन भएको थियो ।
असहज महसुस गरेपछि उनलाई हिजो दिउँसो बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो ।
तर अस्पतालले थप उपचार असम्भव रहेको भन्दै डिस्चार्ज गरेपछि उनलाई निवासमै लगिएको थियो ।
पार्टीका केन्द्रीय सदस्य, परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूतसमेत भएका नेता बास्तोला प्रजातान्त्रिक आन्दोलनका अगुवामध्ये एक थिए ।
२०६९ साल पुस १४ गते मोरङको विराटचोकमा कूल पूजामा सहभागी हुँदै गर्दा उहाँलाई मस्तिष्कघात भएको थियो ।
तत्काल धरानमा उपचार गरी आईसीयूमा राख्न सिलिगुढी लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल पुर्‍याइएको थियो ।
दिल्लीमा लामो समय उपचारपछि काठमाडौं ल्याएर पनि सुधार नभएपछि उहाँलाई नर्सिङ केयरमा घरमै राखिएको थियो ।
२०४८ सालमा भारतका लागि नेपालको राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए ।
नेता बास्तोलाको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि सर्वसाधारणले शोक व्यक्त गरेका छन् ।
चक्रप्रसाद बास्तोला नेपाली कांग्रेसभित्र बौद्धिक र बागी नेताको रुपमा परिचित थिए । २०४६ साल अघिको पञ्चायतविरुद्ध कांग्रेसले थालेको संघर्ष र १० बर्षे माओवादी सशस्त्र युद्धको शान्तिपूर्ण अवतरणमा उनको सम्झनलायक योगदान रह्यो । 
नेता बास्तोला वीपी कोइरालाको प्रेरणाले राजनीतिमा प्रवेश गरेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा होमिएका वीपी कोइरालाको साथ र संगतमा उनले राजनीति थालेका थिए । बनारस विश्वविद्यालयमा अध्ययनरत रहेको अवस्थामा उनको वीपीसँग सम्पर्क बढेको थियो ।
भारतमा रहँदा बास्तोला वीपीको निकै विश्वासपात्र मध्येका एक थिए । त्यसको पुष्टि बंगलादेशका स्वतन्त्रता सेनानीहरुलाई वीपीले चाँजोपाँजो मिलाईदिएको एक ट्रक हतियार बोकेर उनी बंगलादेश गएको कुराले पनि पुष्टि हुन्छ ।
भारतीय पत्रकार भोलानाथ चटर्जीलाई दिएको एक अन्तवार्तामा वीपीले बास्तोलालाई ‘तेजस्वी युवा’को उपमा दिएका छन् । कांग्रेसले थालेको सशस्त्र आन्दोलनको तयारीका एक महत्वपूर्ण हिस्सा थिए बास्तोला । हतियार खरिददेखि त्यसको व्यवस्थापन सम्मको जिम्मा बास्तोलालाई नै दिइएको थियो ।
विमान अपहरण काण्डले उनलाई राष्ट्रिय राजनीतिमा चर्चित युवक बनायो । विमान अपहरणको बेला भारतबाट सबै चाँजोपाँचो सुशील कोइराला र चक्र बास्तोलाले मिलाएका थिए । पछि दुवैजना पक्राउ परेर ३ वर्ष जेल बसे । उनी खतरा मोल्न सक्ने क्रान्तिकारी योद्धा थिए । २०४६ सालको जनआन्दोलनको सफलतापछि बास्तोला निर्वासनबाट स्वदेश फर्किए ।
२०४८ सालको आम निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्दा उनी तत्कालिन नेकपा एमालेका चर्चित नेता राधकृष्ण मैनालीसँग पराजित भए । लगत्तै बनेको कांग्रेसको सरकारले उनलाई भारतको लागि राजदूत बनाएको थियो । 
राजदूतको कार्यकाल पुरा नहुँदै उनी स्वदेश फर्किएपछि २०५१ सालको मध्यावधि निर्वाचनमा झापाबाट निर्वाचित भए । २०५८ सालामा गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा उनी परराष्ट्रमन्त्री बनेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पराजित भए । त्यही नै उनको अन्तिम चुनावी लडाईँ थियो । 
माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन पनि बास्तोलाले अहम् भूमिका खेलेका थिए । माओवादीका नेताहरु पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईसँग गिरिजाप्रसाद कोइरालाको सम्पर्क सेतुको रुपमा उनको सक्रियता विशेष थियो । इमेजखबरमा समाचार छ ।