धनुषा,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ ।
भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणका क्रममा मङ्गलबार भारतको जयनगर पुग्नुभएका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुवै सरकार बीचको सम्बन्ध सुमधुर छ ।
उहाँले नेपाल–भारतबीचको सम्बन्ध कूटनीतिकभन्दा पनि रोटीबेटीको सम्बन्ध भएको र हालका दिनमा अझ सुमधुर भएको बताउँदै भन्नुभयो, भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कुर्था–बर्दिवास रेल यसको उदाहरण हो । मन्त्री महासेठले यसका अतिरिक्त भारत सरकारको सहयोगमा निजगढ–काठमाडौँ रेलमार्गसँगै हुलाकी राजमार्गलगायतका अनेकौँ योजनामा काम भइरहेको बताउनुभयो । मन्त्री महासेठले जयनगर–जनकपुर–कुर्थासम्म डिसेम्बरसम्म निर्माण सम्पन्न भई सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री महासेठसँगै रेल विभागका डीजी बलराम मिश्र, भारतीय निर्माण कम्पनी एरकोनका प्रमुख रवि सहाय, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली रेलमार्गबाट जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको यात्रासमेत गर्नुभएको थियो ।



