रुपन्देहीमा सयपत्री फूल टिप्न र बिक्री गर्न भ्याइ-नभ्याई
कार्तिक २० गते, २०७५ मा प्रकाशित
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का आठ जना महिलालाई अहिले सयपत्री फूल टिप्न र बिक्री गर्न भ्याइ–नभ्याई छ ।
बाँझो जग्गामा महिलाहरुले गरेको फूल खेती अहिले प्रदेशकै लागि उदाहरणीय बनेको छ ।
बार्षिक करोडौं रुपैयाँको सयपत्री फूल भारतबाट आयात भइरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, बेहुलीका आठ महिला भने फूल टिप्न बारीमै व्यस्त हुने गरेका छन् । तिलोत्तमाका ८ जना महिलाको सहभागितामा तिलोत्तमा सहकदम कृषि समूह स्थापना गरेर एक बिगाह क्षेत्रफलमा फूल खेती गरिएको थियो ।
समूहका आठै जनालाई अहिले फूल टिप्न, माला उन्न र बजारसम्म पु¥याउन भ्याइनभ्याई छ । केही व्यापारी भने फूल किन्न बारीसम्मै पुग्ने गरेका छन् ।
व्यवसायिक फूल खेतीमा सहभागी देवी वाग्ले भारतीय फूलको आयातलाई रोक्न तथा प्रदेश–५ लाई सयपत्री फुलबाट आत्मनिर्भर बनाउनका लागि व्यावसायिक रुपमा फूल खेती गरिएको बताउँछिन् ।
तिहारमा मात्रै तीन हजार थान माला बिक्री गर्ने अपेक्षा उनिहरुको छ । जिल्लामा आवश्यक पर्ने सयपत्री फूलको व्यावसायिक खेती नहुँदा भारतको भर पर्नुपर्ने बाध्यता अझै छ ।
तिहारमा मात्र नभएर यस जिल्लामा बेला बेलामा हुने मेला, महोत्सव र कार्यक्रमहरुमा मालाको प्रयोग हुने भएकाले फूल व्यवसायले रामै्र साथ पाउने विश्वास उनिहरुको छ ।
५ नम्बर प्रदेशमै पहिलो पटक महिलाहरुले बाँझो जग्गामा शुरु गरेका फूल व्यवसाय साँच्चै यस प्रदेशकै लागि उदाहरणीय बनेको छ । इमेजखबरमा समाचार छ ।