बर्खे अधिवेशन सम्पन्न भएको डेढ महिना बितिसक्दा पनि सुदुपश्चिम प्रदेशको प्रदेश सभा संचालन हुन सकेको छैन ।
कानुन पारित गर्ने देखि सरकारका कामकारवाहीको समीक्षा गर्ने थलोका रुपमा रहेको प्रदेश सभा सञ्चालन नहुँदा महत्वपूर्ण कामहरु प्रभावित बनेका छन् ।
अहिले सुदुरपश्चिम प्रदेशको प्रदेशसभा ठप्प छ भने सांसदहरु जिम्मेवारविहीन जस्तै बनेका छन् ।
प्रदेश सरकारको मन्त्रालयबाट नयाँ विधेयक दर्ता नभएकाले प्रदेश सभा बिजनेश बिहीन बनेको हो ।
हालसम्म प्रदेश सभामा दर्ता भएका १८ वटा विधेयक मध्ये १७ वटा विधेयक पारित र प्रमाणीकरण समेत भइसकेका छन् ।
अझै पनि बनाउनुपर्ने कैयौँ कानुनहरु छन् अर्कोतिर कानुनको अभावमा स्थानीय तहले समेत काम गर्न असहज भएको गुनासो पनि गरिरहेका छन् ।
प्रदेशका कतिपय विषयमा कानुनको अभावमा काम गर्न पनि असहज भइरहेकै छ । तर प्रदेशसभा भने कामै नपाएजस्तो गरेर बसिरहेको छ ।
उता, प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्मा तत्कालका लागि छलफलको कुनै विषय नभएकाले बैठक सञ्चालन हुन नसकेको बताउँछन् ।
प्रदेशका मन्त्रालयले आफूसँग सम्बन्धित विधेयक निर्माण गर्नुपर्ने त्यतातिर चासो दिएको पाइँदैन ।
बरु सरकारका मन्त्रीहरु विधेयकको तयारी गर्नुभन्दा बढी सामान्य औपचारिक कार्यक्रममा बढी केन्द्रित भएजस्तो देखिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्य भरत खड्का सरकारका मन्त्रीहरुसँग काम गर्ने इच्छा शक्ति नभएकोले यस्तो अवस्था आएको आरोप लगाउँछन् ।
पारित भएका कानुन पनि अधिकांश सेवासुविधासँग सम्बन्धित छन् ।
अत्यावश्यक कानुन निर्माणमा सरकारले ध्यान नदिँदा पनि सरकारको काम प्रभावकारी नभएको हो कि भन्ने आशंका जन्मिन थालेको छ । इमेजखबरमा समाचार छ ।