कांग्रेसले पदाधिकारी बढाएर १२ जना पु-याउने

news
नेपाली कांग्रेसका पदाधिकारी बढाएर १२ जना पु¥याउने तयारी भएको छ ।
पदाधिकारीको संख्याका विषयलाई लिएर विधान मस्यौदामा सहमति कायम हुन नसकेपछि पदाधिकारी संख्या बढाएर १२ पुर्‍याउने तयारी सुरु भएको हो ।
महासमितिका बैठकको तेस्रो दिनमा पनि विधान मस्यौदा प्रस्तुत हुन सकेको छैन ।
महासमितिको मुख्य एजेन्डा नै संघीय संरचनाअनुसार पार्टी विधानको परिमार्जन तथा संशोधन गर्नु हो ।
तर शीर्ष नेतृत्वबीच सहमति जुट्न नसक्दा मुख्य विषयमै महासमितिको बैठकमा प्रवेश गर्न सकेको छैन ।
आइतबार बसेको शीर्ष नेताहरुको छलफलमा पदाधिकारीको संख्या ८ जना पुर्‍याउने सहमति भएको बताइएको थियो ।
तर निर्वाचन पद्धतिमा सहमति नजुटेपछि पदाधिकारी संख्या बढाउने मोडलमा नेताहरु पुगेका छन् ।
नेताहरुबीच हिजो साँझ भएको छलफलमा १२ पदाधिकारी राख्ने सहमति जुटाउने प्रयास भएको छ ।
जसमा ८ जना निर्वाचित र ४ जना मनोनित रहने छन् । एक उपसभापति, एक महामन्त्री एक सहामहामन्त्री र कोषाध्यक्ष मनोनित गर्नुपर्ने पक्षमा संस्थापक पक्ष छ ।
यस प्रस्तावप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला सकारात्मक छन् ।
पौडेल पक्षीय नेताहरुले अन्य नेताहरुसँग सल्लाह गरेर आज निर्णय लिने बताएका छन् ।
पछिल्लो मोडलमा सभापति, उपसभापति २, महामन्त्री ३, सहमहामन्त्री ५ र कोषाध्यक्ष राख्ने प्रस्ताव छ । जसमा सहमहामन्त्री समावेशी बनाउने प्रस्ताव छ ।
पौडेल पक्षले ३ महामन्त्रीको साथै उपसभापति तीन राख्न प्रस्ताव गरेको छ ।
सभापति शेरबहादुर देउवा त्यसमा तयार भए पनि उपसभापतिलाई समावेशी बनाइनुपर्ने सर्त राखेको बताइएको छ । इमेजखबरमा समाचार छ ।