दाङमा आइतबार शिक्षण संस्था शोकमा बन्द गरिने भएको छ। घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाभित्र रहेका शिक्षण संस्था बन्द हुने भएका हुन्।
शैक्षिक क्षेत्रमा भएको सबैभन्दा ठूलो दुर्घटना उल्लेख गर्दै स्थानीय शिक्षा समितिले घोराही, तुलसीपुर र लमही क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिएका हुन्।
घोराहीमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार बस तुलसीपुर उपमहानगरपालिका—३ राम्रीमा दुर्घटना भएको जनाउँदै शोकमा घोराहीमा पनि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको प्रमुख नरुलाल चौधरीले बताएका हुन्।
यस्तै लमही नगरपालिका क्षेत्रका शिक्षण संस्था शोकमा बन्द गर्ने निर्णय भएको सामाजिक विकास समितिका संयोजक तथा नगर शिक्षा समिति सदस्य गणेशमान चौधरीले जानकारी दिए। दुर्घटनामा परी २३ जनाको निधन भएको छ। १४ जना घाइते भएका थिए। देशसन्चारमा समाचार छ ।