चिनी उद्योग सन्चालन हुने समय अनिश्चित बन्दा सर्लाहीका उखु किसान मारमा परेका छन् ।
पुसको दोस्रो साता हुँदासमेत उद्योग सन्चालन हुने कुनै छाटकाँट नदेखिएपछि किसान कसरी उखु बिक्री गर्ने भन्ने चिन्तामा परेका छन् ।
उखु किसान चिनी उद्योगकै कारण लामो समयदेखि पीडित बन्दै आएका छन् । तर, उनीहरुको पीडा न त राज्यले बुझेको छ न त उद्योगीले नै बुझेका छन् ।
विगतका वर्षमा मंसिरको अन्तिम साताबाट क्रसिङ सुरु गर्ने सर्लाहीका इन्दुशंकर चिनी कारखाना, अन्नपूर्ण चिनी उद्योग र महोत्तरीको एभरेस्ट सुगर मिलले गत वर्षको मौज्दात चिनी बिक्री हुन बाँकी रहेकाले तत्कालै उखु क्रसिङ गर्न नसक्ने अडान राखेका छन् । जसले गर्दा किसानको पीडा झनै चुलिएको छ ।
यता, इन्दुशंकर चिनी उद्योग प्रमुख राजेस केडिया सरकारले चिनीको मूल्य समायोजन नगर्दा यो समस्या आएको बताउँछन् ।
इन्दुशंकर चिनी उद्योगसँग अझै एक लाख २५ हजार क्विन्टल चिनी र महोत्तरीको एभरेस्ट सुगर मिलको गोदाममा एक लाख २२ हजार क्विन्टलभन्दा बढी चिनी बिक्री हुन बाँकी नै रहेको छ ।
सर्लाहीको अर्को अन्नपूर्ण सुगर मिलले किसानलाई अझै ३५ करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी राखेको छ ।
यस क्रसिङ सिजनका लागि उद्योगले ५४५ रुपैयाँमा उखु खरिद गर्नुपर्ने माग नेपाल उखु उत्पादक महासंघको छ ।
यो समस्यालाई दीर्घकालीनरुपमा समाधानका लागि राज्य, उद्योग र किसान तीनै पक्षको समन्वय आवश्यक रहेको स्थानीय बुद्धिजीवी सन्तोष बरालको भनाइ छ ।
उखुको मूल्य निर्धारण गर्न किसान, सरकार र उद्योगबीच पटक–पटक छलफल भएपनि अझै टुंगो लाग्न सकेको छैन ।
यसरी एकातिर उखुको मूल्य निर्धारण नहुनु र अर्काेतिर गत वर्ष बिक्री गरेको उखुको पैसा नपाउँदा किसान दोहोरो समस्यामा परेका छन् । इमेजखबरमा समाचार छ ।