डिभर्नामा महिलाको मृत्‍यु भएको घटनालाई लिएर अर्घाखाँचीडट्कमका प्रतिनिधि प्रेम खड्का प्रहरी नियन्त्रणमा, पक्राउको विरोध

सचिन पाण्डे (बाँया) र  प्रेम खड्का । तस्बिर: फेसबूकबाट

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । दुई साताअघि अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर  ११  डिभर्नामा एक महिलाको मृत्‍यु भएको घटनालाई लिएर फेसबूकमा स्टाटस लेखेको आरोपमा अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले  समाज सेवी युवा तथा अर्घाखाँचीडट्कमका प्रतिनिधि प्रेम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 सन्धिखर्क नगरपालिका वार्ड नम्बर  ११ डिभर्नाको अमिले ठाटीकी मिना सेजवाल मृत्‍यु भएको घटनालाई लिएर वडाध्यक्ष ध्रुव आचार्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आफू घटनाबारे अनभिज्ञ रहेको तर आफ्नो नाम र पद समेत जोडेर सामाजिक संजालमा मानहानी भएको भन्दै प्रहरीमा जाहेरी दिएका कारण आज पुन: सो बिषयमा अनुसन्धानको निम्ति प्रेम  खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उता यसभन्दा अगाडि नै वडाध्यक्षको मानहानी हुने गरि सामाजिक संजाल फेसबुकमा पोस्ट गरेको बिषयमा छत्रदेव ८ अर्घातोषका सचिन पाण्डे प्रहरी नियन्त्रणमा रहेका छन् ।  
साथै यस अगाडि श्रीमान् कृष्णबहादुर सेजवालको निर्घात कुटपिटबाट मृत्यु भएको मृतक मिनाकी दिदी कमला भुसालको किटानी जाहेरीपछि प्रहरीले सेजवाललाई गत आईतबार पक्राउ गरेको थियो । पक्राउ परेका   श्रीमान् कृष्णबहादुर सेजवाललाई  जिल्ला अदालत अर्घाखाँचीले र फेसबूकमा स्टाटस लेख्ने सचिन पाण्डेलाई जिल्ला प्रशासन अर्घाखाँचीले ७ दिनको म्याद थप गरी अनुसन्धानको निम्ति हिरासतमा राख्न अनुमती दिएको छ ।
घटनाका दोषीलाई राजनीतिक दल तथा वडाध्यक्ष ध्रुव आचार्यको संरक्षण रहेको भनेर सामाजिक सञ्जालमा लेखेको भन्दै सचिन पाण्डे काठमाडौंमा पक्राउ परेका थिए । 
मिना सेजवालको गत मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो ।
पक्राउको   विरोध
उता पत्रकार तथा समाज सेवी प्रेम खड्का र  क्लिन काठमाडौं अभियान, असहाय बालबालिका पुनर्थापना भबन बाजुराका उपाध्यक्ष तथा सामाजिक अभियन्ता अर्घाखाँची छत्रदेब ८ अर्घातोषका सचिन पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै सामाजिक सन्जालहरुमा चौतर्फी आलोचना तथा विरोध भएको छ ।
प्रहरीले पाण्डेलाई सामान्य फोनबाट नै सोधपुछ गर्नुपर्नेमा काठमाडौंबाट प्रकाउ गरी सन्धिखर्कमा ल्याएर ७ दिनको म्याद थप गरी अनुसन्धानको निम्ति हिरासतमा राखेको भन्दै सामाजिक सन्जालहरु देश-विदेशबाट विरोध भएका देखिन्छन् । 
साथै उनिहरुलाई सामाजिक सन्जाल  फेसबूकमा स्टाटस लेखिएको कारण नियन्त्रणमा ल्याउनु अनुचित भएको बताएका छन् । यस्तै घटनाको निक्ष्पक्ष छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्न समेत अनुरोध गरेका छन् । 

अन्य समाचारहरु