अर्घाखाँचीडट्कम संवाददाता
पुष–१३,सन्धिखर्क । अर्घाखाँचीमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताहरुको संख्या बढेको एक तथ्याकंले देखाएको छ ।
सरकारले असुरक्षित यौन सम्पर्कबाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न नागरिक सचेतना संगै निशुल्क अस्थायी साधन उपलब्ध गराउन थालेपछि प्रयोग कर्ताहरुको संख्यामा बृद्धि हुंदै गएको तथ्यांकले देखाएको छ ।सुरक्षित गर्भपतनको क्षेत्रमा काम गरि रहेको सुनौलो परिवार नेपाल,मेरी स्टोप्स नेपाल अर्घाखाँचीले प्रदान गरेको सेवा तथ्यांकले यस्तो देखाएको हो ।
मेरी स्टोप्स नेपाल अर्घाखाँची शाखाले प्रदान गरेका सेवा प्रवाहको प्रगति बिबरण सार्वजनिक गर्न आज सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यस्तो तथ्यांक सार्वजनिक गर्दै शाखा प्रमुख दिपक शर्माले गोप्यताको साथमा सुरक्षित सेवा प्रदान गरिरहेको भन्दै ढुक्क भएर सेवा लिन आग्रह गर्नुभएको छ ।
जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागितामा सम्पन्न कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै शाखा प्रमुख शर्माले सन् २०१७ मा ४ सय १५ जना र २०१८ मा ३ सय ४१ जनाले सुरक्षित गर्भपतन गराएको, दुवै बर्षमा ३ सय १ जनाले आई.यु.डि.,२ सय ३ जनाले ईमप्लान्टको सुबिधा लिएको जानकारी गराउनु भएको छ । करीब ८ बर्ष अघि स्थापना भएको सुनौलो परीवार नेपाल मेरी स्टोप्स सेन्टर अर्घाखाँचीले १२ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा,परिवार नियोजन सेवा,पाठेघरको मुखको क्यान्सर जाँच सेवा,परिवार नियोजनका अस्थायी साधन वितरण सेवा र जनरल स्वास्थ्य परिक्षण सेवा प्रदान गर्दै आएको जानकारी दिनुभएको छ ।
सन्तान कहरले होईन,रहरले जन्माऔं भन्ने मुल नाराका साथ नेपालमा सन १९९३ मा स्थापित यस संस्थाले हाल सम्म बिभिन्न ३६ वटा शाखा मार्फत प्रजनन स्वास्थ्य सम्बन्धि सेवा प्रदान गर्दै आएको छ ।