प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा. अमरेशकुमार सिंहले सरकारले दुईओटा ‘वाइडबडी’ विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाएका छन् ।
उनले वाइडबडी विमान खरिद गर्दा सम्झौता भएको कम्पनी एक महिनापछिमात्र दर्ता भएको प्रमाण फेलापरेकाले संसदीय समिति गठन गरी छानबिन गर्न माग गरे ।
सांसद पम्फा भुसालले कर्मचारीले खटाएको स्थानमा जानुपर्ने उल्लेख गर्दै वृत्ति विकासमा असर पर्ने गरी गरिएको व्यवस्था संशोधन गर्न माग गरिन् ।
सांसद विमलप्रसाद श्रीवास्तवले स्थानीय तहका कर्मचारीलाई पन्छाएर विकास निर्माणका काम हुन नसक्ने बताए ।
बैठकमा सांसद मेटमणि चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैको उपचार हुने र अन्यत्र जानु नपर्ने आशा गरिएकामा केही कर्मचारीको दादागिरीले अस्पतालको अवस्था नाजुक बनेको बताए ।
निःशुल्क शय्याकोसमेत शुल्क निर्धारण गरिएको, कर्मचारीले साउनदेखि तलब नपाएकामा उनले सरकारको ध्यानाकर्षण गराए ।
सांसद उमेश श्रेष्ठले राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई बेवास्ता गरेको, सरकारले शिक्षामा कम लगानी गरेको, देशभर ६० हजार शिक्षक उपलब्ध हुन नसकेकाले शिक्षाको गुणस्तर खस्किएको बताए ।
सांसद विमला विकले झापामा चिया उद्योग गरिरहेका साना किसानलाई समेट्न वैज्ञानिक चिया नीति बनाउन माग गरिन् ।
सांसद गजेन्द्र महतले संसदका कर्मचारीले दिएको सूचनाका आधारमा सन्चारमाध्यमले सांसदकाबारेमा समाचार प्रकाशित गरेको बताए । रासस