अर्घाखाँचीडट्कम संवाददाता
ठाडा । गोही पाइने धार्मिक दहको संरक्षण तथा पर्यटकिय रुपमा प्रवर्धन गर्न अर्घाखाँचीको शितगंगा नगरपालिकामा पाचौं बराहदह माघी एवम् सांस्कृतिक मेला आयोजना हुने भएको छ ।
पूर्व पश्चिम सडक खण्ड अन्तर्गत धानखोलादेखि करिब १० कि.मि. उत्तरमा पर्ने ठाडाखोला र लामिदमारको बिचबाट बग्ने मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित दहमा मेला आयोजना गर्न थालिएको हो । किंवदन्ति भनाई अनुसार दहमा बराह देवताको शक्ति रहेकोले त्यस दहको नाम बराहदह रहेको हो ।
दहमा स्नान गरी बराह भगवानसगँ बर मागेमा वा भाकल गरेमा सोंचेको पुग्ने, पापनष्ट एवम् रोगव्याधी निको हुने विश्वास गरिन्छ ।
यस्तो महत्व बोकेको यस दहलाई धार्मिक एवम् पर्यटकिय रुपमा विकास एवम् प्रवर्धन गर्न विगत ४ वर्ष अगाडि देखि औपचारीक रुपमा बराहदह मेलाको आयोजना गरिदै आएको छ ।
दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै पक्ष लाग्नु पर्ने बराहदह संरक्षण समितिका अध्यक्ष पदम केसीले बताउनु भयो ।