चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६औं चरणको सत्याग्रहमा उत्रिएका डा. गोविन्द केसीका मागलाई लिएर राजनीतिक ध्रुवीकरण तीव्र भएको छ ।
आफूसँग भएका सहमति हुबहु कार्यान्वयन गर्नुपर्ने माग गर्दै डा. केसी सत्याग्रहमा उत्रिएपछि सत्तापक्ष र विपक्षी राजनीतिक दल पनि जुहारीमा उत्रिएका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा क्षेत्र सुधारसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेपछि डा. गोविन्द केसी पुनः सत्याग्रहमा उत्रिएका छन् ।
डा. केसीको सत्याग्रह सुरु हुनेबित्तिकै जुन दल सत्तामा भएपनि उसको टाउको दुखाइ सुरु भइहाल्छ । विपक्षमा रहने दलले भने उनका माग हुबहु पूरा हुनुपर्ने आवाज उठाउन थाल्छन् ।
तर, त्यही दल सत्तामा गएपछि पुरानो प्रवृत्ति दोहोरिन्छ ।
डा. केसी सरकारले आफूसँग गरेका सहमतिअनुसार विधेयक नल्याएको भन्दै ६ बुँदे माग राखेर १६औं चरणको सत्याग्रहमा उत्रिएका छन् ।
डा. केसीका मागको विषयलाई लिएर अहिले राजनीतिक दलहरु बहसमा उत्रिएका छन् ।
सत्तापक्षीय नेकपाका सांसदहरुले चिकित्सा क्षेत्र सुधारका लागि डा. केसीसँग सरकारले गरेको सहमति हुबहु कार्यान्वयन भएको दाबी गरिरहेका छन् ।
उनीहरुले डा. केसी राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा अनशनमा उत्रिएको आरोप लगाएका छन् ।
तर, विपक्षी दलका सांसद भने केसी र सरकारबीच भएको सहमति हुबहु कार्यान्वयन नभएको बताउँछन् ।
चिकित्सा शिक्षाबाहेकका माग पनि राखेर अनशन बस्दा सदैव डा. केसीमाथि राजनीतिक आरोप लाग्ने गरेको छ ।
विगतमा लोकमानसिंह कार्की प्रकरण र गोपाल पराजुली प्रकरणमा लागेकोजस्तै आरोप अहिले निर्मला पन्त हत्या प्रकरण र द्वन्द्वकालीन मुद्दा अनशनमा जोडेको भनेर आरोप लागिरहेको छ ।
तर, चिकित्सा शिक्षासँगै जोडेर डा. केसीले राखेका सबै माग यिनै दलहरुले मान्दै गएकाले अहिले राखेको माग पनि जायज हो भन्ने तर्क पनि छ ।
समितिबाट बहुमतले पारित चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन संसदमा दर्ता भइसकेको छ ।
समितिबाट पारित भएको विधेयकको प्रतिवेदन जस्ताको तस्तै पारित गर्ने प्रयास भए आफूहरुले संसद नै अवरुद्ध गर्ने चेतावनी विपक्षी नेपाली कांग्रेसका सांसदहरुले दिएका छन् ।
तर, सत्तापक्षीय सांसदहरुले भने डा. केसीसँग भएको सहमतिअनुसार नै विधेयक बनेको जिकिर गरिरहेका छन् ।
उनीहरुले चिकित्सा क्षेत्र सुधारमा केसीले राखेका माग पूरा भएकाले फूलमाला लगाएर सहर घुम्नुपर्ने बेलामा पुनः अनशनमा बस्नु आफूहरुले बुझ्न नसकेको प्रतिक्रिया दिएका छन् ।
केसीले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो उचाइ कम गर्दै गएको आरोप उनीहरुको छ । इमेजखबरमा समाचार छ ।