बिष्णु खनाल
माघ २, सन्धिखर्क । नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दल बहादुर बिरकट्टामगरले जातजाति, भाषाधर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि राज्यले कुनै पहल नगरेको बताउनु भएको छ ।
मगर समुदायको राष्ट्रिय पर्व माघे सक्रान्तीको अवसर पारि पाणिनी गाउँपालिका वडा नं. ७ अड्गुरी मगर गाउँमा भएको कार्यक्रमको धनुषवाण हानि उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । स्थानीय तहहरुले विभिन्न समुदायको भाषा, संस्कृति संवर्धनका लागि उचित बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो ।
उहाँले देशका कुनै पनि जातजातिसँग मगरसमुदायको लडाई नभई राज्यसँग भएको बताउनु भयो । राज्यले मगर समुदायको राष्ट्रिय पर्व माघे सकरातिको अवसरमा सार्वजनिक विदा नदिएर अन्याय गरेको बताउनुभयो । राज्यले विभिन्न समुदायको हकअधिकार कुण्ठित गरेको आरोप समेत लगाउनु भयो । साथै उहाँले मगर समुदायका दाजुभाई दिदीबहिनीहरुलाई देशको कुनै राजनीतिक दलहरुमा आवद्ध भई नेतृत्वपंक्तिमा पुग्न शुभकामना समेत दिनुभयो ।
कार्यक्रममा पाणिनी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गुणाखर अधिकारी, नेवा खलका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल मगर संघका सल्लाहाकार खेम बहादुर घर्तीमगर, टोप बहादुर बलालमगर, वीन बहादुर थापामगर, नेपाल विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख विरमान रास्कोटीमगर, जिल्ला मालपोत कार्यालयका प्रमुख रुकेन्द्र पालुङ्गेमगर, नेकपाका नेता कृष्ण पोख्रेल, नेपाली कांग्रेस अड्गुरी सभापति तुल्सीराम पौडेल, जनार्दन न्यौपाने, मधु सारुमगर, विरमान गुरुङ्ग, नेपाल मगर महिला संघकी जिल्ला अध्यक्ष बसन्ता सारुमगर, नेपाल मगर विद्यार्थी संघका अध्यक्ष कुसुम थापामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
ईतिहास, भाषा संस्कृति संरक्षण संवद्र्धन, मगरहरुको मुलमन्त्र जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नाराका साथ सम्पन्न भएको मगर माघे सकराति कार्यक्रममा बटुक, सेल रोटी, ठोकनी रोटी, अचार, वासा, लगायतका खानाका परिकार प्रदर्शनिमा राखिएको थियो । कार्यक्रममा मगर महिला दिदीबहिनीकाबीच रसि तानातान खेल, विभिन्न सालैजो भाकामा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रम नेपाल मगर संघका जिल्ला अध्यक्ष नेत्र थापामगरको अध्यक्षता, विर बहादुर थापामगरको स्वागत र जिल्ला सल्लाहाकार ईन्द्र गेलेङमगर, जिल्ला सहसचिव दिनेश घतीमगरको सञ्चालनमा सम्पन्न भएको हो ।