प्रेमनारायण आचार्य
जलुके, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ को प्रदेशस्तरीय सञ्चार सम्मेलन शुरु भएको छ ।
सम्मेलनमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले रातारात कमाउनेहरु सुरक्षित हुन मिडियामा लगानी गर्ने प्रवृत्ति रहेको आरोप लगाएका छन् ।
कालोधन लुकाउन मिडियामा लगानी गर्ने गरेको पनि मुख्यमन्त्री पोखरेलको दावी छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ को आयोजनामा आज सातमारा सहिद कृष्ण सेन इच्छुकको जन्म थलोमा सुरु भएको प्रदेशस्तरीय सञ्चार सम्मेलनको उद्घाटनको क्रममा मुख्यमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् ।
मिडियामा लगानी गर्ने र निष्पक्षताबाहिर रहेर आलोचना गर्ने प्रबृति बढेको भन्दै त्यसलाई रोक्न पत्रकार महासंघले बहस चलाउनुपर्ने पनि उनको भनाइ छ । मुख्यमन्त्री पोखरेलले दिवंगत भएका पत्रकार कृष्णसेन इच्छुकको नाममा अर्घाखाँचीको जलुकेमा संग्रालय बनाउन सकिने पनि बताए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अधयक्ष गोविन्द आचार्य, प्रदेश सांसद इन्द्रजित थारु, महासचिव रमेश विष्ट लगायतले आफ्नो धारणा राखेका थिए । दुई दिनसम्म चल्ने सम्मेलनको उद्धघाटन सत्र महासंघका प्रदेश अध्यक्ष मौसम रोकाको अध्यक्षता, उपाध्यक्ष भरत केसीको स्वागत र महासचिव भेषराज बस्नेतको सञ्चालानमा सम्पन्न भएको हो ।