गैससको भूमिकालाई पारदर्शी र व्यवस्थित पार्नुपर्नेमा सन्धिखर्क नगरपालिकाको जोड

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । नगर क्षेत्र भित्र गैससको भूमिकालाई पारदर्शी र व्यवस्थित पार्नुपर्नेमा सन्धिखर्क नगरपालिकाले जोड दिएको छ । 
नगरपालिका भित्र क्रियाशील रहेको स्थानीय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुबीच पहिलो पटक बसेको समन्वय बैठकमा नगर प्रमुख कमल प्रसाद भुसालले हरेक गैरसरकारी संस्थाले गर्ने काममा पारदर्शीता र जवाफदेहिता जरुरी रहेको बताउनुभयो । भुुसालले जिल्लामा जिविको पार्जन तथा जनचेतना अभिबृद्धि गर्ने काममा महत्वपूर्ण भूमिका रहेको भन्दै अबको भूमिका अझ व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
नगर उप–प्रमुख ठाकुर कुमार वि.क किशोरले गैससले दुर दराज देखि जिल्लाका विभिन्न ठाउमा गरेको परिवर्तन महत्वपूर्ण रहेको बताउनुभयो । विकले नगरपालिकाले गर्ने काममा गैससको सहयोग आवश्यक रहेको भन्दै दुवै पक्षको उद्देश्यमा एक रुपमा ल्याउनु जरुरी रहेको बताउनुभयो । उहाँले जिल्लामा पोषण, शिक्षा, स्वास्थ्य, सुशासन, जिवीको पार्जन लगायत क्षेत्रमा संघ संस्थाहरुले गरेको कामले नगरपालिकालाई समेत सहयोग पुगेको बताउनुभयो । 
कार्यक्रममा सहभागीले नगरपालिका भित्र गैसस डेक्सको स्थापना गर्न माग गरेको थिए । कार्यक्रममा नगरपालिकाले गर्ने हरेक काममा गैससको सहभागिता, नियमित सार्वजनिक सुनुवाइ, सहभागितामुलक सार्वजनिक परीक्षण, आम भेला र समग्र विकासमा जनसहभागिता बढाउनु पर्नेमा जोड दिएका थिए । 
नगर उप–प्रमुख तथा गैसस समन्वय समितिका संयोजक ठाकुर कुमार विकको अध्यक्ष, नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आथित्यता र शाखा अधिकृत गोबिन्द केसीको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु