बैंकहरुले उद्योग–व्यवसाय नै बन्द हुनेगरी ऋणको ब्याजदर बढाएको भन्दै शुक्रबार धनगढीमा उद्योगी–व्यवसायीले विरोध गरेका छन् ।
मनोमानीरुपमा ब्याजदर बढाएर उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै कैलाली उद्योग वाणिज्य संघको आह्वानमा उद्योगी–व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।
संघले तत्काल ब्याजदर ८ प्रतिशतमा झार्न माग गरेको छ ।
बढ्दो ब्याजदरले उद्योग धान्नै नसक्ने स्थिति बन्दै गएको भन्दै यही अवस्था रहे उद्योग–व्यवसाय बन्द गर्नुको विकल्प नहुने उनीहरुको भनाइ छ ।
औद्योगिक क्षेत्रलाई प्रतिस्पर्धी बनाउन बैंकको चर्को ब्याजदर नियन्त्रण गरिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालले बताए ।
बैंकिङ कालोबजारी बन्द गरी तोकिएको ८ प्रतिशत ब्याजदर कायम गर्न कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले माग गरे ।
ब्याजदरमा एकरुपता नआउँदा बेरोजगारी बढ्ने, महँगी तथा देशकै अर्थतन्त्रमा प्रतिकूल प्रभाव पर्ने भन्दै उनले सरकार यसमा गम्भीर हुनुपर्ने बताए ।
लगानीयोग्य रकमको अभाव र बढ्दो ब्याजदर नियन्त्रण गर्न व्यवसायीले सरकार, राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् । इमेजखबरमा समाचार छ ।