छत्रदेव गाउँपालिका–२ बल्कोटमा कुवाबाट पानी बोक्दै महिला ।
वीरेन्द्र केसी कान्तिपुर
प्रत्येक चुनावमा अर्घाखाँचीका उम्मेदवारले मत आकर्षित गर्न आँगनमा खानेपानी सुविधा पुर्याउने आश्वासन बाँड्छन् । गणतन्त्र अघिसम्म मुहानबाट पानी ल्याउन सरकारी योजना पारेर घर–घरमा धारा जडान गर्ने बताउँथे । गणतन्त्रपछि चुनावी नारा फेरिए । मुहान सुकेकाले धेरै बस्तीका धारामा पानी आउन छाड्यो । त्यसको विकल्प नयाँ नारा ल्याइएको छ ।
खोलाको पानी तानेर डाँडाका घरघरमा पुर्याउने । उचाइका मूल सुकेकाले पहाडमा बेंसीका खोला वा मुहानबाट पानी तान्नुपर्ने अवस्था छ । केही गाउँमा यस्ता पानी तान्ने (लिफ्ट) योजना सञ्चालनमा पनि आए । अधिकांश बासिन्दाका लागि यो चुनावी नारामै सीमित छन् । स्थानीय तह चुनावमा वडा सदस्यले खोलाको पानी ‘लिफ्ट’ गरेर डाँडामा पुर्याएर बाँड्ने भन्दै भोट मागेका थिए । चुनाव जितेपछि कसैको चासो छैन ।
‘योजना पारेर काम सुरु गर्ने छाँट छैन,’ छत्रदेव गाउँपालिकास्थित केरुंगाकी कमला पाण्डेले भनिन्, ‘गाउँमा हुने कार्यक्रममा संघ, प्रदेश र जनप्रतिनिधिले पानी ल्याइदिन्छौं भनेर भाषण गरे, काम सुरु भएको छैन ।’ उनका अनुसार यहाँ घरघरमा घैंटा छन् । वर्षातमा आकाशको पानी त्यहीँ ठूलो घैंटामा जम्मा गरेर निर्वाह चल्छ । केही महिना मात्र धान्छ । ‘अब सकिन लागेको छ,’ उनले भनिन्, ‘गर्मीका बेला कुवा खोज्दै जंगल चहार्नुपर्छ ।’
जिल्लाका धेरै बस्तीमा खानेपानी हाहाकार छ । संघ, प्रदेश र स्थानीय तहबाट केही गाउँमा यस्ता योजनाका लागि बजेट छुट्टिएको नेताले बताउने गरेका छन् । कामको सुरु कतै भएको छैन । प्रदेश ५ का सांसद चेतनारायण आचार्यले खानेपानी समस्या समाधान गर्न तीनवटै सरकारका प्रतिनिधि मिलेर अघि बढ्नुपर्ने बताए । चालु वर्ष समस्या समाधान गर्न प्रदेश सरकारबाट ९ करोड रुपैयाँ बजेट पारेको उनले बताए । लिफ्ट प्रविधिबाट खोलाको पानी बस्तीमा पुर्याउन खर्चिलो हुन्छ ।
चिदिकाको दुन्द्रुक खानेपानी योजनाका लागि ५१ लाख, केरुंगामा ५२ लाख, छत्रदेव सिठेनीमा ५५ लाख र गोखुंगामा ८ लाख रुपैयाँ छुटयाइएको उनले बताए । खोलामा पानी प्रशस्त छैन । मलारानी गाउँपालिकाको खन र खनदह साढे ६ सय गाउँलेलाई खोलाबाट लिफ्ट गरेर पानी ल्याउन बजेट परेको छ ।
गाउँपालिकाको १ करोड ५ लाख ७२ लाख र प्रदेश सरकारबाट पनि एक करोड ७२ लाख बजेट परेको छ । करिब ८५ लाख रुपैयाँ बराबरको जनश्रमदान गरेर योजना सम्पन्न गर्ने गरी केही समयभित्र काम सुरु हुने मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । गोखुंगा, हंसपुरलगायत बस्तीमा लिफ्टमार्फत पानी पुर्याइने उनले बताए ।
कुवा र पँधेरा गायब
सन्धिखर्क नगरपालिका ४ र ५ वाङलामा कुनै बेला कुवा थिए । स्थानीयले जोगाए । कुवामाथि हरियाली थियो । खानेपानी योजना सञ्चालन भएर गाउँमा धारा जडान भएपछि कुवा/पँधेरालाई स्थानीयले भुले । केही कुवा पुरिए ।
केही मोटरबाटो निर्माण क्रममा भत्काइए । केही वर्ष नयाँ जडान गरिएका धाराको पानीले निर्वाह चल्यो । यस्तो विकासले एक दशकसम्म धान्न सकेन । पछिल्ला ४/५ वर्षयता पिउने पानीको फेरि दु:ख बल्झिएको छ । ‘मुहानमा पानी सुकेपछि धारामा आउँदैन,’ जिसस प्रमुख पीताम्बर शर्माले भने, ‘धारा जडान भएपछि कुवाको वास्ता गरिएन । अब फेरि कुवा कहाँ छन् भन्दै खोज्नुपरेको छ ।’
खाना पकाउन, पिउन र पशुलाई पानी चाहिन्छ । जिल्लामा यसरी पानीका मूल सुक्नुको कारण जथाभावी डोजर लगाएर मोटरबाटो खन्नु हो । ‘उज्यालो नहुँदै गाग्री बोकेर कुवा कुर्नुपर्छ, नत्र पालो पाइँदैन,’ केरुंगाकी सुनिता खनालले भनिन्, ‘एक/डेढ घण्टा पालो कुरेर गाग्री भरेपछि बल्ल डोकामा बोकेर घर ल्याउने हो । एक गाग्रीले खाना पकाउनै पुग्दैन । फेरि दौडिहाल्नुपर्छ, बिहान पूरै जान्छ ।’
बिरामी पर्दा आपतै हुन्छ । कोही अपरिचित व्यक्ति पानी माग्न आयो भने रिस उठ्छ । कति दु:ख गरेर ल्याउनुपर्छ, बरु एक छाक भात खुवाउन सकिछ, पानी दिन गाह्रो छ,’ उनले भनिन् । पानी प्राय: महिलाले कुवाबाट बोक्छन् । ‘गाउँमा अन्न, धनपैसा पैंचो मागेर पाइन्छ,’ बल्कोटकी सुस्मिता पौडेलले भनिन्, ‘तर यहाँ पानी पैंचो पाइँदैन, सकीनसकी बोक्नैपर्छ ।’
गोखुंगा सिमेदेउरालीकी सीता परियारको दैनिक पानी बोक्दा ढाड, कम्मर, घुँडा दु:ख्ने समस्या छ । चिसोमा बिहानै काउलेखोला पुगेर पालो कुर्ने र एक घण्टा उकालामा बोक्दा टाउको दुख्ने, रुघाखोकी, ज्वरो र चिसोको समस्याले बर्सेनि औषधि खानुपरेको उनले बताइन् । ‘चिसोको बेला कष्टै छ,’ उनले भनिन्, ‘गाउँका अधिकांश महिला चिसोका रोगी छन् ।’