प्रमुख प्रतिपक्षी कांग्रेसको विरोधका बाबजुद संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइयो

news
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगका अध्यक्षहरुको सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
आज बसेको बैठकमा समितिमा रहेका कांग्रेसका चारजना सांसदले लिखित असहमति राखे पनि दुई तिहाइ बहुमतका आधारमा आयोगका प्रस्तावित अध्यक्षहरुविरुद्ध उजुरी दिन १० दिनको समय दिने निर्णय सुनुवाइ समितिले गरेको हो । कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिविनै गत माघ ७ गते बसेको बैठकले गरेको निर्णय गैरकानूनी भएको दावीसमेत गरेको छ ।
यसअघि माघ १४ गते बसेको समितिको बैठकमा कांग्रेसकै विरोधका कारण उजुरी आह्वान हुन सकेको थिएन । आजको बैठकमा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक आयोगमा सिफारिस भएका व्यक्तिको हकमा आफ्नो पार्टीको कुनै आपत्ति नरहे पनि संवैधानिक परिषदको निर्णय प्रक्रिया गलत रहेको बताए ।
कांग्रेसले उक्त निर्णयको कागजात मगाई सुनुवाइ समितिले छानबिन गर्नुपर्ने माग गरेको छ । बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने र त्यसबीचमा छलफल गर्न सकिने बताए ।
माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा.विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो । इमेजखबरमा समाचार छ ।