मेलम्ची खानेपानीको ठेकेदार कम्पनीसंग करार आधिकारिक रुपमा रद्द

news
मेलम्ची खानेपानी आयोजनाको मूख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नासँग ठेक्का तोडिएको छ ।
मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी ‘सिएमसी’ सँगको सम्झौता आधिकारिक रुपमा रद्ध भएको हो ।
नेपाल सरकारले कम्पनीलाई उपस्थित हुन दिएको १४ दिने समय सीमाको म्याद सकिएसंगै ठेक्का औपचारीक रुपमा तोडिएको हो
खानेपानी तथा सरसफाइ मन्त्रालयले १४ दिनभित्र उपस्थित हुन दिएको म्याद सोमबार सकिएसँगै टेन्डरको अन्तर्राष्ट्रिय नियमअनुसार सिएमसीसँगको ठेक्का स्वतः रद्द भएको हो । खानेपानी मन्त्रालयले ठेक्का रद्ध भएको आधिकारिक पत्र सिएमसीलाई पठाइने जनाएको छ ।
क्रिसमस र नयाँ बर्ष मनाएर काममा फर्किने भन्दै सिएमसीका प्रतिनिधीहरु इटाली गएका थिए । तर उनिहरु विभिन्न बहानाबाजी गर्ने, अड्को मात्र थाप्ने र माग माथी माग थोपर्दै जाने गर्दै आएका थिए ।
पछिल्लो समय कम्पनी सम्पर्कमा समेत नआएपछि सरकार ठेक्का तोड्ने निश्कर्षमा पुगी पत्राचार गरेको हो ।
आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । टनेल ढलान र फिनिसिङको काम मात्र बाँकी रहेको छ ।
अब बाँकी निर्माण कार्य कसरी सक्ने भन्नेमा छलफल भैरहेको मन्त्रालयले जनाएको छ ।
अहिले आयोजनास्तरबाट बाँकी रहेका काम कसरी सम्पन्न गर्न सकिन्छ भनेर लागत, अवस्था, र नयाँ ठेक्का प्रक्रिया कसरी छोटो बनाउन सकिन्छ भन्ने अध्ययन भैरहेको मेलम्ची खानेपानी विकास बोर्डका प्रवक्ता इन्जिनियर राजेन्द्र प्रसाद पन्त बताउँछन् ।
आयोजनाको प्रमुख दातृ निकाय एशियाली विकास बैंकसँग आयोजनालाई कसरी अगाडि बढाउने विषयमा छलफल भैरहेको जनाइएको छ ।
बाँकी कामका लागि स्वदेशी वा विदेशी ठेकेदार कसलाई जिम्मा दिने भन्ने विषय पनि यकिन भैसकेको छैन ।
तथापी स्वदेशी ठेकेदार पनि बाँकी काम सक्न सक्षम भएको पन्तको भनाइ छ ।  इमेजखबरमा समाचार छ ।