दुवै आयोगलाई निरन्तरता दिएपनि द्वन्द्व पीडितका मागहरुलाई बेवास्ता

news
संक्रमणकालिन न्यायका सम्बन्धमा गठन भएका आयोगहरु सम्बन्धि संशोधन विधेयकले आयोगलाई निरन्तरता दिएपनि हाल बहाल रहेका अध्यक्ष तथा सदस्यको पदावधि २०७५ चैत मसान्तसम्म रहने उल्लेख गरेको छ ।
संक्रमणकालीन न्याय व्यवस्थापनकालागि गठित दुबै आयोगमा हजारौंको संख्यामा उजुरीहरु परेका छन् । तर चारवर्षसम्म पनि काम सक्न नसकेका अयोगका पदाधिकारी थपिएको समयसिमाभित्र केहीपनि गर्न नसकीने बताउँदै आईरहेका छन् ।
सरकारले द्वन्द्व पीडितका अरु मागहरुलाई थाती राख्दै दुबै आयोगको निरन्तरताका लागि मात्र हाललाई ऐन संशोधन गरेको छ ।
सुरुमा तिन वर्षभित्र काम सक्ने गरि जिम्मेवारी पाएका यी आयोगहरुले काम नसक्दा गत वर्ष १ वर्षकालागि म्याद थप गरिएको थियो । तर समयमा ऐन संशोधन भएर नआउँदा थपिएको १ वर्षमा सत्य निरुपण आयोगले एउटापनि मुद्दा किनारा लगाउन सकेन ।
हाल सत्य निरुपण तथा मेलमिलाप आयोयमा करिब ६३ हजार उजुरी परेका छन् । यि मध्ये ४ हजार उजुरी मात्र छानवीनको प्रकृयामा रहेको आगोयले जनाएको छ ।
तर यसैबीचमा आयोगका हाल बहाल रहेका पदाधिकारीको म्याद आउँदो चैत मसान्तसम्म मात्र रहनेगरि सरकारले ऐन संशोधन गरेपछि आयोगमा राजिनामाको लहर चलेको छ ।
आयोगका सदस्य लिला उदासीले हामीसँगको कुराकानीमा राजीनामा दिने मनस्थितिमा रहेको र आउँदो शनिबारसम्ममा टुंगोलाग्ने बताए ।
पदावधी थपिएको दुई महिनामा पदाधिकारीले तिब्र गतिमा काम गर्नुपर्नेमा अहिले सत्य निरुपण तथा मेलमिलाप आयोग सुनसान छ ।
यसवाट पनि के पुष्टी हुन्छ भने आयोगका बाँकी कामहरु अहिलेका पदाधिकारीहरुबाट सम्पन्न हुने सम्भावना न्युन छ ।
आयोगकी सदस्य माधबी भट्ट कानुन, कर्मचारी र बजेट अभावका कारण आफुहरुले विगतमा काम गर्न नसकेको स्विकार्छिन ।
आयोगभित्रकै आन्तरिक किचलोका कारणपनि ४ वर्षको अवधीमा प्रभावकारी ढङ्गले काम गर्न नसकेको उनको तर्क छ ।
यता बेपत्ता पारिएका व्यक्तिको छानबीन आयोगका पदाधिकारी पनि थपिएको समयावधीमा केहीपनि काम गर्न नसकिने बताउँछन् ।
बेपत्ता आयोगमा हालसम्ममा ३ हजार १ सय ९७ वटा उजुरी परेका छन् ।
ती मध्ये २ हजार ५ सय  ११ उजुरीको विस्तृत अनुसन्धान भईरहेको छ भने २४ जना बेपत्ता पारिएका व्यक्ति फेला परिसकेका छन् ।
बेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक अब दुई महिनामा बाँकी काम सम्पन्न गर्न नसकिने बताउँछन् । 
आफ्नो आयोगको ८० प्रतिशत काम सम्पन्न भएको बताउँदै उनले सरकारले समयमानै बजेट उपलब्ध गराएको भए सबै काम गरिसक्ने दाबी गरे ।उनले सरकारले जनशक्ति र आवश्यक बजेटपनि उपलब्ध नगराएकाले काम गर्न नसकेको बताए ।
तर दुबै आयोगले काम गर्न नसक्नुको पछाडी कानुन नै मुख्य कारण रहेको छ ।
सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मुल्य मान्यता वमोजिम सरकारले ऐन संशोधन नगर्दा पदाधिकारी कामविहिन बनेका हुन् ।
ऐन संशोधन नभएसम्म नयाँ आउने पदाधिकारीले पनि काम गर्न नसक्ने अध्यक्ष मल्लिकको तर्क छ ।
सरकारले द्वन्द्व पीडितका विषयलाई प्राथमिकतामा नराख्ने र संक्रमणकालिन न्यायको सिद्धान्तलाई अंगालेर नहिड्ने हो भने अहिले प्रस्ताव गरेजस्तो चैतपछि  आयोग पुनर्गठन भएपनि न्याय निरुपणमा भने समस्या नै रहनेछ ।   इमेजखबरमा समाचार छ ।