अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । साविक एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा भएपछि पनि पुराना संरचना परिवर्तन नगर्दा अप्ठ्यो महसुस गर्दै टोपबहादुर रायमाझीले रोष्टममा लेखिएको एमालेलाई हातले छोपेर मन्तव्य दिएको तस्बिरले चर्चा पाएको छ ।
सामाजिक संजालहरुमा गत माघ २४, विहीवार नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अर्घाखाँचीका गाउँ तथा नगरपालिकाका अध्यक्ष र सचिवहरुलाई मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सपथ ग्रहण गराउँदै रोष्टममा लेखिएको एमालेलाई हातले छोपेर मन्तव्य दिएको तस्बिरले चर्चा पाएको हो ।
सो अवसरमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा नेतृत्वको सरकारले समृद्धिको अभियानलाई साकार तुल्याएरै छाड्ने बताउनु भएको छ । उहाँले वर्तमान सरकारले थुप्रै राम्रा काम गरेपनि कम्युनिष्ट बिरोधीहरुले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र गर्न लागेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अर्घाखाँचीका गाउँ तथा नगरपालिकाका अध्यक्ष र सचिवहरुलाई मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सपथ ग्रहण गराउँदै नेता रायमाझीले नवगठित कमिटीहरुलाई उच्च मनोबलका साथ पार्टी काममा लाग्न निर्देशन दिनुभयो । उहाँले लामो इतिहास बोकेका विशाल पार्टीहरु एमाले र माओवादी मिलेर बनेको नेकपाले जनबिश्वासको आधारमा वर्षौं सम्म सत्ताको नेतृत्व गर्ने ठोकुवा समेत गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा ५ नं. प्रदेश सचिव जगप्रसाद शर्माले पार्टी एकिकरण भएको लामो समय सम्म पनि पार्टीका कमिटीहरु निर्माण हुन नसक्दा सरकारले गरेका कामको प्रचार हुन नसकेको बताउनुभयो । उहाँले सरकारका कामका प्रचार र संगठन सुदृढिकरणमा विशेष ध्यान पु¥याउन नवनिर्मित कमिटीका अध्यक्ष, सचिवलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य नजिर मियाँ, बोमबहादुर वि.क., ५ नं. प्रदेश कार्यालयका सचिव बलराम अधिकारी, प्रदेश सदस्य रामजी प्रसाद घिमिरे,ठाकुर कुमार वि.क., जिल्ला कार्यदलका सदस्य जनार्दन खनालले मन्तव्य राख्दै कार्यकर्ताको भावनालाई बुझेर नवगठित कमिटीले कार्य सम्पादन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम प्रदेश सांसद तथा जिल्ला कार्यका सदस्य चेतनारायण आचार्यको अध्यक्षता, छमकुमारी खनाल ( चिनारी ) को स्वागत मन्तव्य र तोजबहादुर रायमाझी ( विधान)को सञ्चालनमा सम्पन्न भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका छ ओटै स्थानीय तहका अध्यक्ष र सचिवहरुले सपथ लिएका छन् । नेकपाको सन्धिखर्क नगरपालिकाको अध्यक्षमा श्रीकृष्ण भुसाल सचिवमा शिव अधिकारी, भुमिकास्थानको अध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा मणि पौडेल, सितगंगाको अध्यक्षमा वसन्त श्रेष्ठ सचिवमा मणिराम अधिकारी चयन हुनु भएको छ ।
यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा शालिकराम आचार्य सचिवमा शिवलाल कुँवर पाणिनिको अध्यक्षमा कमल घिमिरे सचिवमा जिवलाल घिमिरे र छत्रदेवको अध्यक्षमा रामलाल पराजुली सचिवमा भोजबहादुर रायमाझी चयन हुनु भएको छ ।