आगामी फागुन १४ गते गर्ने भनिएको स्ववियुको निर्वाचन अनिश्चित
माघ २७ गते, २०७५ मा प्रकाशित
आगामी फागुन १४ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन अनिश्चित बनेको छ ।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनलाई दोष लगाएको छ भने विद्यार्थी संगठनहरुले त्रिविले कार्यतालिका सार्वजनिक नगर्दा अन्योल बढेको आरोप लगाएका छन् ।
आगामी फागुन १४ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने प्रायः निश्चित भएको छ । विद्यार्थी संगठनहरुको सहमतिमा त्रिभुवन विश्वविद्यालयले निर्वाचन घोषणा गरेको थियो ।
तर, निर्वाचन आउन दुई हप्ता बाँकी रहँदासमेत त्रिभुवन विश्वविद्यालयले कुनै कार्यतालिका सार्वजनिक गरेको छैन भने बिद्यार्थीहरुलेसमेत आन्तरिक तयारी गरेका छैनन् ।
निकै महत्वका साथ हेरिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन १० वर्षपछि हुन लाग्दासमेत पर धकेनुले यसले बिद्यार्थी संगठनलाई थप कमजोर बनाएको छ ।
बिद्यार्थी नेताहरुले भने स्ववियु निर्वाचनमा अन्योल बढ्नुमा प्रतिस्पर्धी संगठन र त्रिविलाई दोष दिएर आफू चोखिन खोजेका छन् ।
लोकतन्त्र र गणतन्त्रको संवाहकको रुपमा हेरिने गरिएको स्वतन्त्र विद्यार्थी युनियनको भूमिका पछिल्लो समय निस्कृय बन्दै गएको छ ।
नेपाल विद्यार्थी संघ पनि आन्तरिक झगडाले थलिएको छ भने अनेरास्ववियु र क्रान्तिकारीबीच एकता नहुँदा कम्युनिष्ट पार्टी समर्थित बिद्यार्थी संगठनबीचमा पनि स्ववियु निर्वाचनका विषयमा अन्योलनै छ ।
तर, पनि आपसी झगडा र गुटबन्दीले स्ववियु निर्वाचनमा कुनै असर नपार्ने भन्दै विद्यार्थी संगठनहरुले त्यसको दोष त्रिविलाई लगाएर उम्कन खोजेका छन् ।
उनीहरुले स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
स्ववियु निर्वाचन नहुँदा शैक्षिक माफिया र शिक्षामा बेथिति बढ्दै गएकाले बिद्यार्थी संगठन स्ववियु निर्वाचनको पक्षमै भएको उनीहरुको भनाई छ ।
प्रत्येक २/२ बर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालदेखि हुन सकेको छैन ।
सम्पूर्ण विद्यार्थीको हितका लागि हुने स्ववियु निर्वाचन नहुँदा त्यसको असर विद्यार्थीमाथि नै पर्ने भएकाले उनीहरुले हारजीत र आन्तरिक समस्यामा नरुमलिई पहिलो प्राथमिकता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई दिनुपर्ने देखिन्छ । इमेजखबरमा समाचार छ ।