श्याम घिमिरे
२९ माघ अर्घाखाँची – अर्घाखाँचीमा एक गाउँ एक प्राविधिक कार्यक्रम अन्र्तगत जिल्लाका ६ वटै स्थानिय तहका वडाहरुमा कार्यरत २० जना पशुसेवा प्राविधिकलाई मंगलबार पशु सेवा सम्बन्धी उपकरणहरु वितरण गरिएको छ ।
प्राविधिकहरुलाई पशुहरुको उपचार गर्नमा सहज होस भन्दै उपकरणहरु वितरण गरिएको हो । प्राविधिकलाई पोस्टमार्टम सेट, माईक्रोसकोप,सेन्ट्रीक्युगल मेसीन , खसीपार्ने मेसीन,सर्जिकल सामाग्री लगाएत करिब ८ लाख बराबरको पशु सेवा सम्बन्धी सामग्रीहरु वितरण गरिएको पशु सेवा विभाग हरिहर भवनका बरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेल जानकारी दिनुभयो ।
साम्रागीहरु वितरण गर्दे जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्माले नयाँ नयाँ प्रविधीहरु भित्रदै गएकोले जनताको घरदैलोमा पुगी उचीत तरीकाबाट पशुहरुको उपचार गर्नका लागी प्राविधिकलाई आग्रह गर्नुभयो । वितरण गरिएका सामाग्रीहरु प्रयोगको बारेमा क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा. केदार पान्डेले जानकारी गराएका थिए । वितरण गरिएका सामाग्रीहरु पशु सेवा विभाग, हरिहर भवन, ललितपुरबाट व्यवस्था गरिएको हो । वितरण गरिएका सामाग्रीहरु निकै फलदायी हुने प्राविधिक कर्मचारीहरुका जिल्ला अध्यक्ष प्रदिप आचार्यले बताए । कार्यक्रम पशु चिकित्सक बिष्णु पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।