लोकदोहोरी गायक पशुपति शर्माको विवादित बनेको पछिल्लो गीत ‘लुट्न सके लुट…’को संसदमा पनि चर्चा

news
लोकदोहोरी गायक पशुपति शर्माको विवादित बनेको पछिल्लो गीत ‘लुट्न सके लुट…’ ले संसदमा पनि चर्चा पाएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले लोकदोहोरी गायक पशुपति शर्माको हालै सार्वजनिक गीतलाई रोक लगाउनु लोकतान्त्रिक अधिकार हनन् भएको आरोप लगाए ।
सांसद सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरे ।
सांसद सिंहको भनाइको प्रतिवादमा सत्तारुढ दलका सांसद झपड रावलले गायक पशुपति शर्माको गीतमा सरकारले कुनैपनि प्रतिबन्ध नलगाएको जिकिर गरे ।
पाठकमाथि कानुनी कारबाही गर्न माग
शून्य समयमा भाग लिँदै सांसद गणेशकुमार पहाडी र अमृता थापाले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि कानुनी कारबाही गर्न माग गरे ।
सांसद घनश्याम खतिवडाले मोरङमा ठेकेदारले बाटो निर्माणमा गरेको ढिलासुस्ती र कमसल निर्माणले जनताले दुःख पाएको भन्दै त्यस्ता ठेकेदारमाथि कडा कारबाही गर्न माग गरे ।
सांसद अमनलाल मोदीले किसानलाई सहज र सुलभरुपमा मलको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरु आशाकुमारी विक, इन्दुकुमारी शर्मा, उमा रेग्मी, कलिला खातुन, कृष्णप्रसाद दहाललगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । इमेजखबरमा समाचार छ ।