बिष्णु खनाल
फागुन १०, सन्धिखर्क । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अति विपन्न परिवारलाई निशुल्क रुपमा मिटर जडान गरिदिने भएको छ ।
वितरण केन्द्रका प्रमुख ईञ्जिनियर विरमान रास्कोटीले अति विपन्न परिवार र साँस्कृतिक महत्व बोकेका सम्पदाहरुको पहिचान गरि निशुल्क मिटर जडान गर्ने बताउनु भयो । स्थानीय निकायको सिफारिसका आधारमा मिटर जडान कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने रास्कोटीको भनाई छ ।
अर्घाखाँची वितरण केन्द्रले अति विपन्न परिवार र साँस्कृति महत्व बोकेका सम्पदाको हकमा ६ एम्पियर बराबरको लोड र एक सय मिटरसम्मको एल.टि.लाईन विस्तार गर्नेछ । साथै ५.३० एम्पियर क्षमताको सिंगल फेज इनर्जि मिटर तथा जडान निशुल्क गरिने नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले जनाएको छ ।
अर्घाखाँची वितरण केन्द्रले प्राथमिकताका आधारमा १० दिनभित्र विवरण बुझाउन स्थानीय तहहरुलाई अनुरोध समेत गरेको छ ।