टीकापुर हत्या घटनाको फैसला, रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैद

 जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्या घटनाको फैसला गरेको छ । फैसलाअनुसार रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैद तोकेको छ ।
जन्मकैद तोकिएकाहरुमा
हरिनारायण चौधरी
राजकुमार कठरिया
सुन्दरलाल कठरिया
वृज मोहन डगौरा
राजेश चौधरी
विरबहादुर चौधरी
प्रदीप चौधरी
सिताराम चौधरी
श्रवण चैधरी
गंगाराम डगौरा चौधरी
रेशमलाल चौधरी
उनीहरुलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३, ३ अनुसार जन्म कैद हुने फैसला गरिएको अदालतको फैसलामा उल्लेख छ। श्रवण चौधरी नाबालक भएकाले बालबालिका ऐनअनुरुप उनलाई १० वर्ष मात्रै कैद हुने फैसला सुनाइएको हो।
३ वर्ष कैद सजाय पाएकाहरु
लक्ष्मण थारु
लाहुराम चौधरी
राजकुमार कठरिया
सन्तराम चौधरी
जीतबहादुर डगौरा
प्रेमबहादुर चौधरी
किसनलाल चौधरी
दिलबहादुर चौधरी
सन्तोष थारु चौधरी
विश्राम चौधरी
रामप्रसाद चौधरी
चुन्नराम चौधरी
उनीहरु बुधबार नै रिहा भएका छन्। उनीहरुलाई तोकिएको कैद जरिवाना यसअघि नै पुगिसकेकाले कारागारको कागजी प्रकृयापछि बुधबार अपरान्ह रिहा हुने जनाइएको छ। चुन्नीराम चौधरी यही फागुन ३० गते छुट्ने छन्।
६ महिना कैद सजाय
करन चौधरी
नाबालक रहेका उनलेसमेत कैद भूक्तान गरिसकेकाले बुधबार नै रिहा हुनेछन्। तीन जनाले सफाइ पाएका छन्।
सफाई पाउनेहरुमा
तहाँवर अलि जागा
विषराम चौधरी (कुष्मी)
रामनरेश चौधरी
५८ जनाविरुद्ध मुद्दा भए पनि फरार सूचीमा रहेका ३१ जनाको मुद्दा भने मुल्तवीमा राखिएको जिल्ला अदालतले जनाएको छ। दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएको थियो।
यसरी भएको थियो टीकापुर घटना
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते प्रहरीका एसएसपी र एक नाबालकसहित ९ जनाको हत्या भएको थियो। घटनामा मुख्य योजनाकार भएको आरोप लागेका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। प्रतिवादीहरुका तर्फबाट विभिन्न प्रतिवादीहरुका लागि अधिवक्ताहरुले बेग्लाबेग्लै बहस गरेका छन्। काठमाण्डौंबाट आएका वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्वन्यायधिवक्ता हरि फुयाल र अधिवक्ता दीनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन्। यस्तै दीनमणि पोखरेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमा समेत बहस गरेका हुन्।
कैलालीका अधिवक्ताहरु गंगाराम पाध्याय, गजेन्द्र केसी, गम्भीरसिंह ऐर, वीरबहादुर जेठारा, नाथुराम महता र जुहारीलाल चौधरीले रेशमसहित सबै २७ जना प्रतिवादीको पक्षमा बहस गरेको अधिवक्ता गंगाराम उपाध्यायले बताए। वादीहरुको पक्षमा भने जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेलले बहस गरेका हुन्।