सिके राउत र सरकार बीच ११ बुँदे राजनीतिक सहमती

स्वतन्त्र मधेसको अभियानलाई रोक्न भन्दै गृहमन्त्री रामबहादुर थापा  र चन्द्रकान्त (सिके) राउतले राजनीतिक सहमतीमा हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका बीचमा बसेर उनीहरूले हस्ताक्षर गरेका हुन्। 
बिहिबार राष्ट्रिय सभागृहमा भएको उक्त सहमतिपत्रका नेपाल अखण्ड स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो यो महत्वपूर्ण कुरा हो भन्ने पहिलो बुँदा छ।
सरकारले राउत र कार्यकर्तालाई लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्ने, पक्राउ गरेका कार्यकर्ता रिहा गर्ने, केही समयअघि प्रहरी हिरासतमै मृत्यु भएका राउतका कार्यकर्ता राममनोहर यादव परिवारलाई क्षतिपूर्ति दिने, उनका परिवारका एक जना सदस्यलाई रोजगारी दिने।
आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचार गर्ने, शान्तिपूर्ण तरिकाले राजनीति गर्न प्रतिबन्ध नलगाइने सहमतिपत्रमा लेखिएको छ।
सहमति अनुसार, राउत र उनका कार्यकर्ताले स्वतन्त्र मधेसको नाममा पम्पलेट छाप्नेछैनन्। सेतोपाटीमा समाचार छ । 
सीके राउत पुष्पकमल दाहालजत्तिकै क्षमतावान : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस आन्दोलन परित्याग गरेका नेता सीके राउत नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजत्तिकै क्षमतावान भएको बताएका छन् ।
news
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राउतलाई मूलधारको राजनीतिमा भित्र्याउँदै प्रधानमन्त्री ओलीले भने–‘प्रचण्डजीले पनि आन्दोलन गरेर संसदीय अभ्यासमा आउनुभयो । सीके राउतजीको आन्दोलनपनि उहाँजत्तिकै क्षमतावान रह्यो ।’
‘जाति–जाति लडाउने र भूगोल–भूगोल लडाउने कुरालाई त्यागेर आउने कुरा चानचुने होइन’ भन्दै प्रधानमन्त्री ओलीले देश बनाउन राउतको भूमिका महत्वपूर्ण रहने बताए ।
‘हिंसारहित बाटोबाट पनि प्रतिक्रियावादी शक्तिलाई पराजित गर्न सकिन्छ भन्ने कुरा सीके राउतजीले सन्देश दिनु भएको छ’–प्रधानमन्त्री ओलीले बताए ।
हालै अदालतले गरेको फैसलामा राजपा नेपालले गरेको विरोधप्रति लक्षित गर्दै प्रधानमन्त्रीले ‘अदालत राज्यको अंग भएपनि सरकारको अंग होइन’–भने ।
टीकापुर घटनामा अदालतले गरेको फैसलापछि एउटा राजनीतिक दलले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले ‘बिरालो रिसायो भने मान्छेलाई होइन, खाँबो चिथोर्छ’ भन्ने उखान चरितार्थ भएको टिप्पणी गरे ।
अदालतलाई आलोचना गर्न नसकेपछि सरकारविरुद्ध ओर्लिएको उनको भनाइ थियो ।
उनले आवेग र उत्तेजनाको राजनीति नगर्न आग्रह गर्दै यो देश निर्माण गर्ने बेला भएकाले सुशासन र विकासको लहर चलाउन सबैमा आग्रह गरे ।
अरु निहुँ नपाएपछि सीके राउतलाई देखाएर ‘तराईमा रोटी सेक्न चाहनेहरुको रोटी अब काँचै पल्टिने’ पनि उनले बताए ।
‘तराईको पृथकतावादी चलाउनेलाई छाड्ने, हामीलाई भने थुन्ने ?’ भन्नेको अब ‘मुख बुझो लागेको’ पनि उनको भनाइ थियो ।
‘अब देश टुक्र्याउने भन्ने मुद्दापनि सकियो’–प्रधानमन्त्री ओलीले भने ।
उनले विभिन्न बहानामा अत्तो थापेर राजनीतिक अस्तित्व देखाउनेतिर नलाग्न सबैलाई आग्रहसमेत गरे ।
बुद्धको सन्तान हामीमा अहिंसा रगतमा बगेको छ : सीके राउत
पृथकतावादी आन्दोलन छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेका सीके राउतले आफू कहिल्यै हिंसाको पक्षधर नरहेको दाबी गरेका छन् ।
news
स्वतन्त्र मधेस गठबन्धनका नाममा चलाइएको पृथकतावादी अभियान छाडेर मूलधारको राजनीतिमा सहभागी भएको घोषणा गर्दै राउतले भने–‘हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो रगरगमा बगेको छ ।’
सरकार र राउतको गठबन्धनबीच भएको ११ बुँदे सम्झौता घोषणा कार्यक्रममा बोल्दै राउतले सरकारसँग भएको सहमतिलाई ‘ऐतिहासिक’ पनि भनेका छन् ।
सहमति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेको भन्दै उनले धन्यवादपनि दिए ।
बिहीबार काठमाडौंको सभागृहमा भएको कार्यक्रममा चन्द्रकान्त (सीके) राउत र गृहमन्त्री रामबहादुर थापाबीच ११ बुँदे राजनीतिक सहमति भएको हो ।
प्रधानमन्त्री ओलीको रोहबरमा भएको उक्त सहमतिपछि राउतले अब स्वतन्त्र तराईको माग गर्ने छैनन् ।
आफूहरूले अहिंसात्मक आन्दोलन गरेको र त्यो आन्दोलन कुनै समुदायविरूद्ध नभएको पनि राउतले बताए ।
‘राज्यबाट दमन भएपनि हामीले त्यसको प्रतिउत्तरमा केही गरेनौं । हिंसात्मक हुन सक्थ्यौं तर हिंसामा हामीले विश्वास गरेनौं’–उनले भने–‘तर यो सहमति गर्न प्रधानमन्त्री ओलीले आफैं पहल गर्नुभयो र सुरक्षित अवतरण भयो । धन्यवाद प्रधानमन्त्रीज्यू !’
सरकार र आफ्नो संगठनबीचको ऐतिहासिक सहमतिले सरकार र जनता सबैको जित भएको पनि राउतले उल्लेख गरेका छन् ।