गण्डकी प्रदेशसभाको विधायन समितिमा विधेयक पठाइने

news
गण्डकी प्रदेशसभाको आज बसेको बैठकले ‘गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ । 
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधेयकलाई थप छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरिएको हो । यसअघि विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, धनमाया पोख्रेल लामा, मित्रकुमारी गुरुङ सुवेदी र डोबाटे विश्वकर्माले प्रशासनिक प्रभावकारिताका लागि विधेयक उपयुक्त बन्ने धारणा राखे ।
बैठकको विशेष समयमा प्रदेशसभा सदस्य दीपक कोइराला, विन्दुकुमार थापा र मनबहादुर गुरुङले पृथ्वीराजमार्गअन्तर्गतको पोखरा जोड्ने विजयपुर खोलाको पुल निर्माण भएको छोटो समयमानै चर्केको बताउँदै सरकारको ध्यानाकर्षण गराए ।
एघार वर्षकै अवधिमा पुल चर्केका कारण यसको छानबिन हुनुपर्ने बताउँदै उनीहरुले आवतजावतमा अत्यन्त महत्व राख्ने पुलको तत्काल वैकल्पिक व्यवस्थापन गर्दै यातायात सुचारु गराउनुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य राजीव पहारीले हिमआँधीका कारण अन्नपूर्ण आधार शिविरमा चारवटा होटल क्षतिग्रस्त भएको बताउँदै पीडितलाई क्षतिपूर्तिका साथै पर्यटकलाई सहजरुपमा उक्त स्थानमा पुग्ने किसिमको वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
सदस्य मेखलाल श्रेष्ठले सरकारले शान्ति सुव्यवस्थाका साथै रोजगारीको प्रत्याभूति गराउन नसकेको आरोप लगाउँदै जनताको अपेक्षालाई पूरा गर्ने गरी सरकार अघि बढ्नुपर्ने धारणा राखे । (रासस)