हृदय भुसाल
सन्धिखर्क, अर्घाखाँची ८ चैत्र । सेवाग्राहीले सेवा सहज र सरल रुपमा प्राप्त गर्न आवश्यक सहयोग पुराउने मुख्य उदेश्यका साथ सन्धिखर्क नगरपालीकाले नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
सेवा प्रवाहमा एकरुपता कायम गर्न तथा नागरिकको सहज पहुँच स्थापित गर्न नगरपालिकामा सहायता कक्ष सञ्चालन गरिएको नगरप्रमुख कमल प्रसाद भुसालले वताए । नगर उपप्रमुख ठाकुर कुमार विकले नगरपालिकालाई सुशासन,उत्तरदायि,र जनमैत्री बनाउँदै सवैजनताको अपनत्व हुने गरि विकास र समृद्धिको दिशामा लागेको यो अभियानमा नागरिक सहायता कक्षको महत्वपुर्ण भुमिका हुने वताए । सहायता कक्षले कार्य सम्पादनमा दुवै पक्षलाई छिटो सजिलो र सहज हुन थालेको शाखा अधिकृत गोविन्द केसीले वताए ।
सन्धिखर्क नगरपालिका ७ निवासी अनिल भुसालले भने,‘बाहिरै सहायता कक्षमा धेरै कुरा जानकारी हुँदा काम गर्न छिटो छरितो सहज हुन्छ, अब काम गर्दा सजिलो होला जस्तो लाग्यो ।’ नागरिकका उजुरी,समस्या र गुनासो सामाधान गर्न र जनताप्रति थप उत्तरदायी पारदर्शी र सुशासन प्रवद्र्धनको लागि सहायता कक्षको महत्वपूर्ण भूमिका हुने पत्रकार सागर परियारले वताए ।
नगरपालिकामा सेवाग्राही जाँदा कार्यसम्पादन हुने फाँट र सेवा प्रवाहका विभिन्न विधि र पक्रियाको बारेमा सर्वसाधारणलाई जानकारी कम हुदा कार्यालय र सेवाग्राहीहरुका बीचमा तालमेल कम मिलेको देखिन्छ । अहिले नयाँ संविधान अनुसार सवै तहमा निर्वाचित सरकारहरु वनेका छन् । यो समय संविधान कार्यान्वयनको लागी तिनै तहका सरकारहरु तीब्र गतिमा अगाडी बढ्ने समय हो । तर अहिले सजह वहुमत प्राप्त सरकार वनेकाले नीतिगत,कानुनी र प्रक्रियागत रुपममा सरकार सञ्चालन गर्न कुनै कठिनाई देखिँदैन ।
तर प्रशासनिक व्यवस्थापनको दृष्टिले अहिले तिनै तहको सरकारलाई निकै चुनौती छ । दलगत रुपमा विभाजित कर्मचारी वर्गले सरकारको कुन हद सम्म सहयोग गर्दछन् भन्ने प्रश्नको उत्तर सहज छैन् । सरकारमा बस्नेहरुले दलगत भावना राखेर कर्मचारीको परिचालन गर्छन् या योग्य र इमान्दाररुको कदर गर्दछन भन्ने मुख्य परिक्षणको विषय वन्दैछ ।
कार्यसम्पादनलाई व्यवस्थित,प्रभावकारी र जनमैत्री सेवा प्रवाहको लागि जेजति नियम कानुन वनाएपनि अर्घाखाँचीका स्थानीय तहहरुमा पहिलो पटक सन्धिखर्क नगरपालिकाले नागरिक सहायता कक्षको स्थापना गरेको छ ।