(प्रकासित मिती: २०७५ चैत्र ३०, शनिवार)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । कल्याणी सेवा नेपालका सदस्यहरुले अध्यक्ष सुशीला बञ्जाडे समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन ।
सन्धिखर्क स्थित कल्याणीको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी र सबै पदाधिकारी उपस्थित थिए । केही महिना अघि जिल्लाका समाजसेवी महिलाहरु मिलेर गठन भएको कल्याणीले सामाजिक काममा क्रियाशिल रहेको छ । बञ्जाडेको नेतृत्वमा गठित कार्य समितिमा ७ जना छन ।
२९ जना सदस्य रहेको कल्याणीले छोटो अवधीमै सामाजिक अभियन्ताको रुपमा राम्रो काम गर्दै आएको छ । सामाजिक सोच, विचार र भावनामा रहेका महिलाहरुको संस्था कल्याणीले चुत्रावेशी स्थित भद्रीखोलामा रहेका वादी समुदायलाई न्यानो कपडा वितरण, आगालागी, मृगौला र क्यान्सर पीडितलाई उपचार खर्चको लागि आर्थिक सहयोग गर्दै आएको छ । साथै महिलालाई अचार बनाउने तालिम, कानूनी साक्षरता, लैंगिक हिंसा न्युनिकरण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
निस्वार्थ भावनाले समाजसेवा गर्ने, गरिब दुखी, रोगीको उद्धारमा सहयोग गर्दै आएको कल्याणीले आगामी दिनमा पनि नौला कार्यक्रम गर्ने योजना अघि बढाएको छ । अब आत्महत्या न्युनिकरण सम्बन्धी मनोपरामर्श तालिम र बालविवाह न्युनिकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने अध्यक्ष सुशीला बञ्जाडेले बताउनुभयो । महिलालाई कानूनी साक्षरण तालिम गर्ने कार्यक्रम रहेको सचिव एवं अधिवक्ता पवित्रा बञ्जाडेले बताउनुभयो ।
महिनावारी हुँदा महिलाले गर्नुपर्ने सरसफाइ लगायतका थुप्रै कार्यक्रम गर्ने योजना रहेको सदस्य कमला भण्डारीले बताउनुभयो । विभिन्न सीपमुलक तालिम पनि सञ्चालन गरेको छ ।