अर्घाको घर्तीखोर आसपासमा बँदेल, राते लगायतका जंगली जनावरले खेतबारीमा बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाको घर्तीखोर आसपासमा जंगली जनावरले खेतबारीमा लगाएको बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन्।
अर्घाको घर्तीखोर आसपासका गाउँहरुमा बँदेल, राते लगायतका जंगली जनावरले खेतबारीमा लगाएको बाली खाने एवं नष्ट समेत पार्ने गरेका कारण किसानहरु पीडित बन्दै आएका हुन्।
बालीनाली नष्ट पार्दा स्थानिय किसानहरु निकै मारमा पर्दै आएको अर्घा निवासी  चिरञ्जीवीले गुनासो गरे । हुलका हुल जंगली जनाबर पसेर खेतको बाली सिध्याउने गरेको उनले बताए ।  उनले भने, ‘अरु जनावरले माथि माथि खाने भएपनि बँदेलले त बालीको समेत जरै उखेलेर खाने अनि पुरै नष्ट नै पार्ने गरेको छ।’ केही वर्षअघि सम्म कहिल्यै नदेख्ने गरेको जंगली जनावरहरु हाल खेतभरी हुलका हुल आएर बालीनाली नष्ट पार्न थालेपछि किसानहरु खेती गर्ने कि नगर्ने भन्ने दोधारमा समेत परिरहेको चिरञ्जीवीको भनाई छ। यस्तै यहाँ चितुवा, बाघको त्रासमा स्थानियबासी बस्न वाध्य भएका छन् । 
    
खेतमा लगाएको धान, मकै, गहुँ, उखु लगायत सबैखाले बाली बँदेल लगायत जंगली जनावरले खाने र नष्ट समेत पार्ने गरेको अर्घाका किसानहरु बताउन्छन् । हीले, गौचोर, दीप सक्रेती, अर्घा बढी प्रभावित क्षेत्र हुन् । यि क्षेत्रमा मानिसहरुले गौचरन पनि छाडेपछि जंगली जनावर घर घर पस्न थालेको चिरञ्जीवीले बताए । 
उता डिभिजन वन कार्यालयले जिल्लाको उतरी क्षेत्रमा वन्यजन्तुको आतंकले किसान एवं सर्वसाधारण हैरान भएको खबर आइरहेको बताएको छ । बस्ने ठाउँ, हिड्ने बाटो, चर्ने ठाउँ सबै क्रमशः अतिक्रमणको चपेटामा पर्दै गएपछि वन्यजन्तु अन्नबाली हुने क्षेत्रमा झरेर विनाशलिला मच्चाउन सुरु गरेको वन कार्यालयको भनाई छ । 
उता जिल्लाका अन्य भागमा बाँदर लखट्न पीडित किसानहरुलाई बजेट आएपनि यहाँ वार्डले कुनै ध्यान नदिएको हीले, गौचोर, दीप सक्रेती, अर्घाबासीको गुनासो छ ।     
@अर्घाखाँचीडट्कम

अन्य समाचारहरु