पोखराथोकको भिरालो बारीमा बाह्रै महिना तरकारी खेती गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष

पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम आफ्नो कुखुरा फार्ममा । 
वीरेन्द्र केसी कान्तिपुर 
पोखराथोक, अर्घाखाँची ।  पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम पहिला काम, त्यसपछि मात्र भाषणमा जोड दिन्छन् । उनले पाखोबारीमा तरकारी खेती गरेका छन् । कुखुरापालनबाट आर्जन गरिरहेका छन् । 
आफैंले काम गरेर देखाएपछि अरूले सिक्छन् र व्यवहारमा लागू गर्छन् भन्ने मान्यता उनीहरूको छ । उमेरले ४४ वर्ष पुगेका अच्युतले पोखराथोकको भिरालो बारीमा बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् ।
क्याम्पस पढ्दा–पढ्दै राजनीतिमा लागेका अच्युत कांग्रेसबाट गाउँपालिका अध्यक्षमा चुनिएका हुन्ट। अच्युत कांग्रेस क्षेत्रीय सभापति पनि हुन् । गाउँपालिका अध्यक्ष भएदेखि अच्युत छिटो गाउँपालिकाको काम सकेर बारीमा पुग्छन् । १५ वर्षदेखि व्यावसायिक कृषिमा लागेका उनी जिल्लामा नमुना कृषकका रूपमा चिनिन्छन् ।
उनको कृषि फार्म हेर्न दैनिक भीड हुन्छ । जिल्लाका अरू जनप्रतिनिधिले पनि उनको फार्म देखाउन कृषकलाई भ्रमणमा लैजान्छन् र अच्युतले जस्तै गर्नुपर्छ भन्छन् । ‘मसँग जागिर माग्न आउनेलाई कृषि र पशु पाल्न सल्लाह दिन्छु, केही त गरेका छन्,’ उनले भने, ‘फरक तरिकाले खेती गरेपछि पैसा यहीं फल्छ । विदेश धाउनु पर्दैन ।’
आफू नेता भएर अरूलाई कृषि गर, पशु पाल भनेर मात्रै हुँदैन, आरम्भ आफैंबाट गरेपछि बल्ल अरूले गर्छन् भन्ने उनको भनाइ छ । बिहानै उठेर तरकारी बारीमा डुल्छन् । गोलभंडाको झाल कत्रो भयो, कति दाना फले हेर्छन् र कसरी ठूला, धेरै दाना फलाउन सकिन्छ भन्नेमै उनको ध्यान छ ।
बारीमा काउली, साग, मूला, आलु, करेला फलेका छन् । कुखुरा पनि हेर्छन् । दिउँसो पालिका कार्यालय, विभिन्न कार्यक्रममा पुग्छन् । बिदाको दिन दिनभर खेतीपातीमा भुल्छन् । स्थानीय हरिहर संस्कृत तथा साधारण उमावि व्यवस्थापन समिति अध्यक्ष, विभिन्न संघसंस्थामा सामाजिक काम गरेकाले उनलाई पालिका अध्यक्ष जित्न सफल भएको स्थानीय बताउँछन् । 
तरकारी र अन्डाबाट आम्दानी
अच्यूतको बारी भिरालो छ । अहिले गोलभेंडा, साग, मुला, आलु उत्पादन भएका छन् । १५ टनेलभित्र बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी फल्छ ।
अन्न उत्पादन भन्दा तरकारीबाट तेब्बर आम्दानी भएपछि अन्नखेती छाडेका छन् । ‘मल बोक्ने, बारी खन्ने, डल्ला फार्नेदेखि बिरुवामा सिँचाइ आदि म आफैं गर्छु, मिहिनेत गरेपछि पाखोबारीमै भविष्य उज्ज्वल हुन्छ,’ उनले भने । गोलभेंडा खेती धेरै छ । नेता भएर भाषण गर्ने र घर आएपछि बारीमा छिर्ने उनले बताए । नजिकै त्यति ठूलो बजार पनि छैन ।
पोखराथोकमा पाल्पाको तानसेनबाट दैनिक गाडी आउजाउ गर्छन् । बसको छतमा यहाँदेखि करिब ३० किमि टाढा बुटवल र तानसेन तरकारी पठाउँछन् । सुरुमा कोही थिएन । उनले गरेको देखेर भिसा रद्द गरी यता लाग्ने युवाको संख्या बढदो छ । ‘अन्नखेती गरेको भए खान पुग्दैनथ्यो, तरकारी खेतीबाट वर्षमा १२/१३ लाख रुपैयाँको कारोबार हुन्छ,’ उनले भने । उत्पादन गर्न सक्नुपर्छ, बिक्री नहोला भन्ने चिन्ता छैन । उनले १० रोपनीमा तरकारी उत्पादन गरिहेका छन् ।
पहाडको तरकारी खानलाई मिठो र स्वादिलो मान्दै बुटवलबाट व्यापारीले फोन गरी माग गर्छन् । प्रशस्त कुखुरा पालेका छन् । दैनिक ३ हजार अन्डा उत्पादन हुन्छ । कुखुरा थप्दै छन् । सुरुमा ब्रोइलर थिए । ती हटाएर अन्डा दिने पाल्न सुरु गरे । स्वच्छ हावापानी र खानपिनले अन्डाको आकार ठूलो हुन्छ । आधाजसो अन्डा गाउँमै खपत हुन्छ । गाउँमै मोटर चल्नुको फाइदा छ । गाडी नचलेको भए उत्पादन बाहिर पठाउन सम्भव थिएन ।
अन्डाबाट पनि वर्षमा आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए । अन्डा पनि गाडीमै बुटवल जान्छ । ठूलै कुखुरा फार्म विकास गर्ने उनको योजना छ । पालिकामा आएर कृषि गर्छु भन्ने सर्वसाधारणले उनको फार्म हेर्न आउँछन् । गौतमकी पत्नी शिक्षण पेसामा छन् । बिदाको दिन पतिपत्नीले मिलेरै बारीमा काम गर्छन् । ५ जनाले मासिक तलब पाउँछन् । ७/८ जना दैनिक ज्यालादारीमा काम गर्छन् । तरकारी खेती र कुखुरापालनमा कामको जिम्मेवारी छ । आफ्नै गाउँमा रोजगारी पाएपछि उनीहरू दंग छन् ।

अन्य समाचारहरु