प्रेम खड्का | तस्बिर: सहयोगी बिसी
रतनमारे, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर नम्वर ६ हंसपुरको रतनमारे स्थित स्वास्थ्य चौकीमा एक दिने एकिकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा मालारानी गाउँपालिकाको सहयोग र समन्वयमा आज शनिबार रतनमारे स्थित स्वास्थ्य चौकीको प्राङ्गणमा एक दिने एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको हो ।
मालारानी गाउँपालिकाको सार्वजनिक विदाका दिन पनि काम गर्ने लक्ष्य लिए अनुसार आज रनतमारेमा शिविर सञ्चालन भएको हो । घुम्ती सेवा शिविरमा नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन, सन्धिखर्क जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट निशुल्क स्वास्थ्य सेवा शिविर सञ्चालन, RIM र SIM Card वितरण, समुदाय-प्रहरी साझेदारी कार्यक्रम सञ्चालन , उद्योग/व्यापारिक फर्म दर्ता तथा नविकरण, लागु औषध निषेध, मदिरा नियन्त्रण, लैङ्गिक हिंसा विरूद्ध सचेतना अभियान सञ्चालन , माटो परिक्षण, किरा तथा रोग परिक्षण सेवा, झाडी सुधार कार्यक्रम, सार्वजनिक सुनुवाई लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
शिविरमा नागरिकता, राहदानी, फोटोसहितको मतदाता नामावलि, स्वास्थ्य परिक्षण, महिला हिंसा, बलत्कार, भैझगडा लगायतका विषयमा नागरिकले प्रत्यक्ष सेवा लिएका थिए । शिविरबाट करीव तीन हजार नागरिक लाभान्वित भएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
शिविरबाट १ सय ४९ जनाले नागरिकता प्रमाण पत्र, अपाङ्ग परिचय पत्र ३१, जनरल स्वास्थ्य परिक्षण ६ सय ९४, आर्युवेदिक उपचार ४६३, आँखा जाँच ३९०, मुटु सम्बन्धि परिक्षण १०५, ईसीजि ५०, सुगर पक्षिण ८५, पाठेघरको रिंग पेसरी ५४, भिईएआई २२ जनाले सेवा लिएको बताएको छ ।