माधव खनाल
नरपानी, अर्घाखाँची जेठ १० । अर्घाखाँचीको नरपानीमा तीन दिने आधारभुत फोटो पत्रकारिता तालिम आज देखि सुरु भएको छ । कमन नेपाल प्राली कपिलबस्तुको आयोजना र कृष्णनगर नगरपालिकाको सहयोगमा सञ्चालित फोटो पत्रकारिता तालिममा कपिलबस्तु जिल्लाका १८ जना पत्रकारहरुको सहभागिता रहेको छ ।
आज देखि सुरु भएको तालिमको उद्धाटन नेपाल पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्यले ब्यानरको तस्वीर खिचेर गर्नु भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि आचार्यले फोटोमा सबै कुरा बोल्ने भएकोले सञ्चारको विकास संगै फोटो पत्रकारिताको माग बढि रहेको बताउदै तालिमको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।
आयोजक सस्था कमन नेपालका सञ्चालक तथा पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरिले पत्रकारितामा फोटोले दिने सन्देशको वर्णन गर्न नसकिने भन्दै सञ्चार जगतमा फोटो पत्रकारिताको माग बढि रहेको बताउनु भयो ।
उद्धाटन समारोहमा फोटो पत्रकार महासंघका प्रदेश अध्यक्ष तथा तालिमका प्रशिक्षक मनोज पौडेल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेश खनाल लगायतले मन्तब्य राख्दै तालिमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रम कमन नेपालका सञ्चालक बसन्त गिरीको अध्यक्षता, जानु पाण्डेको सञ्चालन र राजेस चौधरीको स्वागत मन्तब्यमा सम्पन्न भएको बिष्णु खनालले जानकारी दिनुभयो ।