सन्धिखर्कमा फोहोर व्यवस्थापन नहुँदा स्थानीयलाई सास्ती (भिडियो सहित)
जेष्ठ २२ गते, २०७६ मा प्रकाशित
मुक्तिनाथ भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क प्रवेश गर्ने मुख्यद्वार दुर्गन्धित बने पनि सरोकारवालहरुको ध्यान पुग्न सकेको छैन । बजार क्षेत्रको फोहोर संकलन गरी सदरमुकामदेखि करिव २ किलोमिटर दूरीमा रहेको अलुवाखोलामा फोहोर डम्पिङ्ग गरिएको कारण स्थानीयले सास्ती खेप्दै आएका छन ।
सन्धिखर्क सदरमुकाममा आउने र जाने सवारी साधनको अलावा यो क्षेत्रमा यात्रा गर्नेहरु कडा दर्गन्धका कारण नाक, मुख छोप्न वर्षौंदेखि बाध्य बनेका भए पनि यसलाई व्यवस्थापन गर्नेतर्फ कसैको ध्यान पुगेको छैन । यो क्षेत्रको दुर्गन्धका कारण आटीकापाटा, गच्छे तथा फुदवाङ्ग बजारवरपरका स्थानीय समेत प्रभावित बनेको र यसै फोहोरका कारण आफुहरु बिमारी हुने गरेको भन्दै सन्धिखर्क नगरपालिका कार्यालयले समस्या बुझिदिन आग्रह गरेका छन् ।
यसै विषयमा केन्द्रित भई सन्धिखर्क नगरपालिका १ का वडाअध्यक्ष युवराज बन्जाडेसँग जिज्ञाशा राख्दा डम्पिङ्ग क्षेत्र भएको ठाउँमा सुन्दर बगैँचा बनाउने र फोहोर व्यवस्थापनका लागि अन्य विकल्पको रुपमा आफुले योजना बनाइसकेको बताए । उनका अनुसार निकट भविष्यमै काम शुरु हुने छ । यसैगरी नगरप्रमुख कमलप्रसाद भुसालसँग जिज्ञासा राख्दा, फोहोर व्यवस्थापनका लागि विकल्पका रुपमा ठाउँ हेर्ने काम भइरहेको र यथाशीघ्र समस्या समधान गर्नेतर्फ आफुहरु सक्रिय रहेको जानकारी मिलेको छ ।
बजार क्षेत्रमा छाडा छाडिएका चौपायाहरु यसै फोहोरका कारण आकर्षित भएको कारण विशेषगरी यस क्षेत्रमा रहेका चौपायाहरुलाई समेत उचित व्यवस्थापन गर्नुपर्ने तर्फ सन्धिखर्क नगरपालिका लगायतका सम्बद्ध पक्षहरुको ध्यान जानु आवश्यक देखिन्छ ।