जुकेनाको फेंदीफाँटमा शिक्षण पेशासंगै बाख्रापालन गर्दै लक्ष्मण ओली

नेत्र मरासिनी
फेंदीफाँट, अर्घाखाँची  । अर्घाखाँचीको शितगंगा नगरपालिका-६ जुकेनाको फेंदीफाँटमा बसोबास गदै आउनु भएका भेरी नगरपालीका-२, जाजरकोट स्थाई बसोवास भएका लक्ष्मण ओली शितगंगाकै १० नम्वर वडाको डिही आधारभूत बिद्यालयमा प्रध्यानाध्यापक हुनुहुन्छ । मेहनती ओलीले बिद्यालयमा शिक्षण मात्र नगरेर बाख्रापालन गर्दै सिंगो गाँउमै उदाहरणिय सावित बन्नु भएको छ ।
पढेलेखेका र सरकारी जागीर हुनेले कृषि र पशुपालन गर्दा इज्जत जान्छ भन्ने समाजको मान्यतालाई कुल्चदै ओलीले व्यबसायिक बाख्रापालन गर्नु भएको छ । फर्मनै दर्ता गरी उहाँले गाँउमै उदाहरणिय बाख्रा व्यबसाय थालनी गर्नु भएको हो ।
भौगोलीक विकटता र अतिनै न्यून जनघनत्व रहेको फेंदीफाँट क्षेत्रमा यसरी व्यबसायनै सञ्चालन गर्ने उहाँ मात्र हुनुहुन्छ । दिनभर बिद्यालयको शिक्षण पेशामा व्यस्त रहेपनी बिहान बेलुका र विदाको समयलाई पुर्ण सदुपयोग गर्दै उहाँले बाख्रा व्यबसायबाट मनग्य आम्दानी लिन सफल हुनु भएको छ । स्थानियको साढे तीन रोपनी जग्गा किनेर व्यवस्थित खोर र टाट्नो निर्माण गरी थोरै ठाउँबाट आफुले ठुलो फाईदा लिन सकेको उहाँको भनाइ छ ।
वुवा,श्रीमती र आफु गरी जम्मा तीनजनाको परीवार रहेको उहाँकी श्रीमतीले समेत सोही बिद्यालयमा शिक्षण गर्नुहुन्छ । डेढ बर्ष अघि देखी ५ वटा माउबाट सुरु गरेको बाख्रा पालन अहिले ५० माउ र पाठापाठी गरी ८० भन्दा बढि बाख्रा पुगेको छ । उन्नत जातको वोयर र जमुनापारी तीनवटा वोका प्रजननका लागी पालेको ओलीको भनाई छ । अर्ध बधुँवा तरीकाबाट बाख्रा पालन गरेका ओलीले स्थानीयस्तरमै उपलब्ध कच्चापदार्थको प्रयोगबाट सन्तुलित दाना बनाइ प्रयोग गरेकाले राम्रो प्रतिफल भएको उहाँको भनाइ छ ।
उहाँले उत्पादीत खसी पाठा गोरुसिङ्घे,चन्द्रौटा र बुटवलको बजारसंग सम्पर्क गरी जिउदो तौलका आधारमा बिक्रि गर्दै आउनु भएको छ ।
नेपाली वजारमा धेरैनै माग रहेको ग्रीन गट उत्पादनका साथै स्थानीय जातका कुखुरा पालनमा समेत ओली त्यस क्षेत्रमै अब्बल ठानीहुन्छ । “हाल दुईसय भन्दा बढि लोकल कुखुरा छन्, त्यसबाट पनि राम्रो आम्दानी भएको छ’ उहाँले भन्नुभयो ।
“फुर्सदको समय कटाउने कुनै ठाँउ छैन,अरुका घरमा जाने कुरा काट्ने, हल्लने गर्नुभन्दा समय सदुपयोग र आम्दानीको लागी व्यबसाय थालेको हुँ” । ओलीले खुसी हुँदै भन्नुभयो “बाख्राबाट बार्षिक तीनलाख र कुखुरा बाट करीब असीहजार सम्म आम्दानी हुनेगरेको छ”,।
शिक्षण पेशा,बाख्रा,कुखुरा पालन संगै माहुरी पालन,खाद्यान्न पसल,विरामीको उपचार सेवा जस्ता धेरै कामलाइ संगसंगै सफलरुपमा अगाडी बढाएका ओलीले बार्षिक पाँच लाख सरकारी तलब भन्दा अतिरीक्त आम्दानी हुने बताउनु भयो ।
स्वदेशमा रोजगारीका अवसर नदेखी दैनिक हजारौको संख्यामा विदेशीने युवालाई जाजरकोट देखी अर्घाखाँची आई शिक्षण पेशा संगै व्यवसायिक बनेका लक्ष्मण ओली सबैको उदाहरणिय बन्नुभएको हो । यसरीनै सबै कृषकहरुले व्यबसायिकता तर्फ ध्यान दिने हो भने कृषिजन्य बस्तुमा बर्षेनी बाहिरीने अरबौ रकम देश भित्रै रोकिन्थ्यो की??

अन्य समाचारहरु