अर्घाखाँचीडट्कम संवाददाता
आटिकापाटा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रदेश सरकार, प्रदेश नं. 5 प्रदेश मामिला तथा कानून समितिका संयोजक मा. भोज प्रसाद श्रेष्ठ, सदस्य मा. रमा अर्याल, सदस्य मा. भगवती देवी भण्डारी समेतको संसदीय टोलीले मंगलबार अर्घाखाँची सन्धिखर्क स्थित आटिकापाटामा रहेको कारागारको निरीक्षण अनुगमन सम्पन्न गरेको छ ।
निरीक्षण/अनुगमनको क्रममा मा. सांसदहरुले कारागारका कैदी/बन्दीहरुसँग अन्तरक्रिया गर्नु भएको थियो । सो पश्चात जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कारागार सम्बन्धी विविध विषयमा अन्तरक्रिया तथा छलफल सम्पन्न भएको थियो । उक्त अनुगमनको अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कारागारको विद्यमान अवस्था, समस्या र समस्या समाधानको लागि नेपाल सरकार तथा प्रदेश सरकारसँग गरेको अपेक्षाका बारेमा संक्षिप्त प्रस्तुतिकरण गर्नु भएको थियो ।
सो अन्तरक्रियामा प्रदेश सभाका मा. सांसदहरुले हालको कारागारलाई सन्धिखर्क नगरपालिका लगायत सरोकारवालासँग समन्वय गरी अन्यत्र उपयुक्त स्थानमा स्थानान्तरण गर्दा उपयुक्त हुने सुझाव राख्नुभएको थियो ।
सो अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसाल, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जि.सी.(लेकाली) समेतको सहभागितामा सम्पन्न भएको थियो ।