सागर महत
सिद्धारा, अर्घाखाँची । अर्घाखाँचीको विकट शितगंगा नगरपालिकाका विकट गाउँका विद्यार्थी समस्यामा परेका छन् ।
दैनिक चाररपाँच घण्टा हिँडेर विद्यालय जानुपर्ने भएकाले विद्यार्थी समस्यामा परेका हुन् ।टाढाटाढाका विद्यार्थीलाई मध्यनजर गरी छात्राबासको व्यवस्था मिलाइए पनि व्यवस्थित हुन सकेको छैन ।अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो नगरपालिका हो ।नगरपालिका भए पनि यसभित्रका कतिपय ठाउँहरु अत्यन्तै विकट छन् ।
नगरपालिकाका ९, १० र ११ वडा सिद्धाराका विद्यार्थीहरु माध्यमिक तह पढ्न दैनिक ४/५ घन्टाको बाटो हिड्नुपर्ने भएकाले विद्यार्थीहरु समस्यामा परेका हुन् ।सोही बाध्यतालाई मध्येनजर गरी २०६८ मा जनजागृति माविमा मणिराम पौडेल स्मृति छात्रबास स्थापना गरिएको थियो ।टाढाटाढाका विद्यार्थी र शिक्षक छात्राबासमा बसिरहेका छन् । छात्राबास कच्ची, अव्यवस्थित र साँघुरो भए पनि बस्नुपर्ने बाध्यता रहेको शिक्षक शम्भु पौडेलको भनाइ छ ।छात्राबासमा अहिले ४/५ घन्टा हिडेर आउनुपर्ने बाध्यता भएका करिब १ सय ५० विद्यार्थी तथा शिक्षक बसोबास गरिरहेका छन् ।
विद्यालयमा आउन एकतर्फी बाटो ४ घन्टा हिड्नुपर्ने भएकाले छात्राबासमा बसोबास गरिरहेको रुमनाथ अधिकारी बताउँछन् ।यो बर्ष छात्राबास निर्माणको लागि प्रदेश सरकार र नगरपालिकाले केही सहयोग गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।
शिक्षाजस्तो आधारभूत विषयमा पनि सहज पहुँच हुन नसक्नु दुर्भाग्यपूर्ण छ । सुविधाजनक छात्रावासको लागि सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।