श्याम घिमिरे
अर्घाखाँची साउन २६ – मालपोत कार्यालय अर्घाखाँचीमा भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत अनलाइन सेवा शुरु गरिएको छ । सेबाको आईतबार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले कम्प्युटमा रहेको सफ्टवेयर क्लिक गरी सेबाको शुभारम्भ गरेका हुन ।
शुभारम्भ कार्यक्रममा मनतब्य राख्दै प्रजिअ लामीछानेले नेपाल सरकारको सबै सेबा प्रबाहलाई सुचना प्रबिधि मैत्री बनाउदै लैजाने कार्य अनुरुप यस प्रकारको सेबा सुरुगरीएको बताए । लामीछानेले सेबाग्राहीहरुलाई छिटोछरितो, पारदर्शी, सहज र विश्वसनीय बनाउन यो प्रणालीले महत्वपुर्ण भुमिका निर्बाह गर्ने कुरामा जोड समेत दिए ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अधिकृत हीरागोपाल महर्जनले अर्घाखाँची यस्तो किसिमको सेवा प्रदान गर्ने ७९ औं मालपोत कार्यालय रहेको बताउदै देशभरका १२६ वटा मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए । महर्जनले जग्गा प्रशासन सम्बन्धी सेवा सूचना प्रविधि मैत्री, सहज, छरितो, पारदर्शी र विश्वसनीय बनाउन यो प्रणाली लागु गरिएको बताए । उनले यो प्रणालीमा हरेक दिन मुलुकभर कति जग्गाको कारोवार भयो, कति खरीदबिक्री भयो, कति राजश्व संकलन भयो भन्ने जानकारी विभाग वा मन्त्रालयबाट पनि हेर्न सकिने बताए ।
बिभागका कम्पुटर अधिकृत समेत रहेका महर्जनले यो प्रबिधिबाट देशभरका जग्गा तथा जग्गाधनीको विवरण विभागको एउटै सर्भरमा केन्द्रीकृत रूपमा भण्डारण भई विभाग तथा सरोकारवालालाई आवश्यक पर्ने तथ्याङ्क र विवरण सजिलैसंग एकै ठाउँबाट प्राप्त गर्न सकिने बताए ।
यस प्रणालीमा घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा लिने र दिने साक्षीहरूको औँठा छाप, दस्तखत तथा फोटो र विद्युतीय उपकरणहरूका माध्यमबाट प्रणालीमा समावेश गर्ने एवं उक्त घर-जग्गा किनबेच गर्दा परीक्षण गर्ने व्यवस्था रहेको मालपोत कार्यालयले अर्घाखाँचीले जनाएको छ । घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा निवेदन र लिखत स्वीकृत हुनुभन्दा अगावै जग्गाधनीलाई एसएमएस र इमेलमार्फत नोटिफिकेशन जाने व्यवस्था रहेको हुँदा कीर्ते कारोबार प्रायः शून्य हुने मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख माधब अर्यालको भनाई रहेको छ ।
मालपोत कार्यालयका प्रमुख माधब अर्यालको अध्यक्षता सुरबिर पुनको स्वागत मनतब्य र नायव सुब्बा रुकेन्द्र पालुङ्गेको सन्चालन सम्पन्न कार्यक्रममा बिशेष नापी कार्यालयका प्रमुख खिम बहादुर रानाले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा सरकारी कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुख,पत्रकार लगायतको उस्थिति रहेको थियो ।