कोरोना नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको कांग्रेसको ठहर

काठमाडौं,  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको ठहर गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरूसहितको ज्ञापनपत्र बुधबार प्रधानमन्त्रीलाई बुझाउँदै कांग्रेसले महामारी नियन्त्रण गर्न र जनतालाई विपद्बाट सुरक्षित राख्न सरकार पूर्णरुपमा असफल भएको ठहर गरेको हो ।

उचित व्यवस्थापन नभएका कारण ‘क्वारेन्टिन’बाटै संक्रमण फैलिरहेको भन्दै कांग्रेसले भारतबाट आएका मानिसलाई परीक्षण गरी सुरक्षित ढंगबाट घर पुर्‍याउन आग्रहसमेत गरेको छ ।

सरकारले ‘लकडाउन’को सही ढंगले उपयोग नगरेको भन्दै उद्योग–व्यवसाय चलायमान गर्न र आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर बन्न कांग्रेसले जोड दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले महामारी नियन्त्रणमा कांग्रेसको धारणा र सरकारले तत्काल गर्नुपर्ने कामबारेमा ध्यानाकर्षण गराएको बताए ।

प्रधानमन्त्री ओलीले सुझावहरूलाई सकारात्मक र गम्भीरतापूर्वक लिएर आवश्यकताअनुसार कार्यान्वयन गरिने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत र रमेश लेखक बालुवाटार पुगेका थिए ।-इमेज