नेपालमा ५,००८ जना कोरोनाभाइरस संक्रमित थपिए

काठमाडौं, असोज २४ । नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा पुष्टि भएको हालसम्मकै सर्वाधिक संख्या हो ।
थपिएका संक्रमितमा काठमाडौंका मात्रै २,१०० जना रहेका छन् । ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा १९,३२० ओटा नमुनाको ‘पीसीआर’ परीक्षण गरिएकोमा ६८ जिल्लामा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा एकैदिनमा गरिएको पीसीआर परीक्षणको सो संख्या पनि हालसम्मकै सबैभन्दा बढी हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १०५,६८४ पुगेको छ । इमेजखबरमा समाचार छ ।