किरण श्रेष्ठ रेडियो नेपाल
तनहुँ । तनहुँको मानहुँकोटमा शनिबार आन्तरिक पर्यटकको ठुलो भिड लागेको थियो । जिल्लाको व्यास नगरपालिका वडा नम्बर ५ मा रहेको मानहुँकोटमा तनहुँ र छिमेकी जिल्लासंगै देशका विभिन्न स्थानबाट पर्यटकहरु ठुलो संख्यामा शनिबार मानहुँकोट आएका थिए ।
शनिबार मात्रै १० हजारभन्दा बढी पर्यटकले मानहुँकोट भ्रमण गरेको व्यास–५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । शनिबार अहिलेसम्मकै धेरै संख्यामा पर्यटक मानहुँकोटमा आएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।
’मानहुँकोट आन्तरिक पर्यटकको घुँइचो लागेको थियो ।’ वडाअध्यक्ष श्रेष्ठले भन्नुभयो ’यसठाउँको व्यवस्थापनमा अझैँ धेरै काम गर्न बाँकी रहेको छ ।’
मानहुँकोटमा भ्यु टावरको काम अघि बढेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अब बाँकी रहेको बाटो पनि छिट्टै नै कालोपत्रे हुने तयारीमा रहेको छ ।
छैन सार्वजनिक शौचालय र पार्किङ्ग
पछिल्लो समय अत्याधिक ठुलो संख्यामा पर्यटक पुग्ने गरेको मानहुँकोटमा सार्वजनिक शौचालय भने छैन । सार्वजनिक शौचालय नहुँदा बाहिरबाट मानहुँकोट पुग्ने पर्यटकलाई शौच गर्न समस्या हुने गरेको देखिन्छ ।
शनिबार चितवनबाट मानहुँकोट घुम्न आउनुभएको पुजा भट्टराईलाई पनि सार्वजनिक शौचालय नहुँदा शौच गर्न समस्या भएको बताउनुभयो ।
उक्त विषयमा स्थानीय सरकारले छिटोभन्दा छिटो कदम चाल्नुपर्ने भट्टराई बताउनुहुन्छ । उहाँजस्तै मानहुँकोट पुग्ने हजारौं पर्यटकले उस्तै खाले समस्या झेल्नु परेको छ ।
त्यस्तै मानहुँकोटमा अर्को समस्या भनेको पार्किङ्गको हो । शनिबार नै सो दृश्य प्रष्ट रुपमा देख्न सकिन्थ्यो । ठुलो संख्यामा पर्यटक जाँदा सवारी साधन पार्किङ्ग गर्ने ठाउँको अभाव देखिएको थियो । सोही कारण सवारी साधन सडक छेउमै पार्किङ्ग गरिएको थियो ।
सडकको दुवै छेउमा सवारी साधन पार्किङ्ग गरिदिँदा सडक जाम भएको थियो । मानहुँकोट जाने र फर्कनेको भिड अनि त्यहिमाथि सडकमा गरिएको अव्यवस्थित पार्किङ्गले करिब ३ किलोमिटर जाम भएको थियो ।
दमौलीबाट मानहुँकोट घुम्न पुगेका गोविन्द तिमल्सेनाले शनिबार जत्तिको भिड अहिलेसम्म मानहुँकोटमा नदेखेको बताउनुभयो । उहाँले भन्नुभयो ’मानहुँकोट धेरै पटक आको थिए तर आज जस्तै जाम नै पर्ने गरी भिड भने देखेको थिइन् ।’ पार्किङ्गको लागि व्यवस्थित स्थान बनाउनुपर्ने तिमल्सेना बताउनुहुन्छ ।
त्यस्तै सरसफाईमा विशेष ध्यान दिनुपर्ने हेटौँडाबाट मानहुँकोट घुम्न आउनुभएका प्रसुज मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो ’जो घुम्न आउनुहुन्छ उहाँहरुले गरेको फोहोर उहाँहरुले नै सफा गरेर फर्किनुपर्छ ।’ उहाँ अगाडि भन्नुहुन्छ ’घुम्न जादाँ आफ्नो पाइलाको डोप मात्रै छोडेर फर्किने हो नकी फोहोर ।’ हरेक पर्यटकीय गन्तव्य सफा राख्नु सबैको दायित्व भएको मैनालीले बताउनुभयो ।
आइतबार (आज) व्यास नगरपालिकाको बोर्ड बैठक मानहुँकोट मै बस्ने तयारी भएको नगरपालिकाका प्रवक्ता एवं व्यास–५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
’आज बैठकले सार्वजनिक शौचालय बनाउने निर्णय गर्ने तयारी रहेको छ ।’ वडाअध्य्क्ष श्रेष्ठले भन्नुभयो ’अब अर्को हप्तादेखि पार्किङ्गलाई पनि व्यवस्थित बनाउछौ ।’ उहाँले भन्नुभयो ’अब तिव्र गतिमा काम अगाडि बढाउछाँै ।’
सरसफाई, सार्वजनिक शौचालय र पार्किङ्गको अत्यावश्यक देखिएको आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष एवं व्यास–४ की वडासदस्य बसुन्धारा घर्तिले बताउनुभयो ।
उहाँले भन्नुभयो ’अब मानहुँकोटमा बुद्धको विशाल मुर्ति, नेपालको झण्डा र आदिबासी संग्रालय बनाउनुपर्ने अध्यक्ष घर्तिले बताउनुभयो । उहाँले भनिन ’अब हरेक जातजातीको संस्कृति संग्रालय बनाएर राख्नुपर्छ ।’
छैन कोरोनाको डर
मानहुँकोटमा अहिले हरेक दिन आन्तरिक पर्यटकको भिड लागेको देख्न सकिन्छ । दैनिक रुपमा देशका विभिन्न भागबाट यहाँ पर्यटकहरु आउने गरेका छन् । मानहुँकोट पुग्ने प्रायको मुखमा मास्क देखिदैन ।
न भौतिक दुरी नै कायम गर्छन । तनहुँमा दैनिक रुपमा कोरोना सङ्क्रमितको संख्या बढिरहेको छ । कोरोना सङ्क्रमणबाट तनहुँका १४ जनाको मृत्यु भइसकेको छ ।
मानहुँकोटमा विशेष गरी बिहानको सुर्योदयको समयमा घुइचो लागेको देख्न सकिन्छ ।
अहिले सामाजिक संजाल फेसबुक, टिकटक, युटुब लगाएतमा मानहुँकोट फोटो, भिडियो भाइरल भइरहेको छ ।