अर्घाखाँची र प्युठान जोड्ने जलुकेको माझीदमार चेउखोलामा मोटरेवल पुलको निर्माण कार्य अलपत्र


बिष्णु कुमार आले
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अबिरल बर्षाका कारण सडक भत्किएपछि ढुवानी गर्न नसक्दा अर्घाखाँची र प्युठान जोड्ने माझीदमार चेउखोलामा निर्माणाधीन अवस्थामा रहेको मोटरेवल पुलको निर्माणकार्य अवरुद्द भएको छ ।
शितगंगा ७ जलुकेको शिवादह सानाढुङग्रे माझिदमार मोटोरबाटो अन्तर्गत सानाढुङग्रे देखि पाखाचौर सडकखण्डको तिखेडाँडा, लाटाखोला र सारुडाँडामा पहिरो जाँदा सडक अवरुद्द भएको छ ।
तर शितगंगा नगरपालीकाले बेलैमा पहिरो हटाउने काम नगरेपछि ढुवानी गर्न नपाउँदा दुई जिल्ला जोड्ने झिमरूक माझीदमार चेउखोलामा निर्माणाधीन अवस्थामा रहेको मोटरेवल पुलको निर्माण कार्य अलपत्र परेको स्थानिय टिकाराम आचार्यले बताए ।
९० मिटर लम्बाई ११ मिटर चौडाई रहेको मोटरेवल पुलको निर्माण कार्य जारी रहेका बेला बर्षाका कारण सडक भत्किएपछि ढुवानी गर्न सकिएन, अहिले झिमरूक खोलाले ड्याम कटान गरि रहेको छ, खोलामा बाढि आउनासाथ पुल बगाउने स्थानिय सुन्दर आचार्यले गुनासो गरे ।
२०७४ सालमा संघिय सरकारबाट बहुबर्षिय योजना अन्तर्गत ९ करोड रकम बिनियोजित भएपछि २०७३ साल पौस २८ गते सम्झौता गरि अम्मर कन्ट्रशन प्रालीले पुल निर्माणको जिम्मा लिएको थियो ।
अहिले पुलको करिव ७० प्रतिशत काम सम्पन्न भएको छ, तर असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गरि बुझाउनु पर्ने अन्तिम बेलामा सडक अवरुद्घ हुदा पुल निर्माणको काम रोकिएको हो ।
सडकमा खसेको पहिरो नगरपालीकाले नहटाए सम्म ढुवानी गर्न नसकिने तर जति सक्दो छिटो सडकको पहिरो हटाएमा निर्माणकार्य सुरू हुने टिकाराम आचार्यको भनाई छ ।
पहिरोले शितगंगा ७ जलुकेको पाखाचौरको ५० रोपनी भन्दा बढि खेतियोग्य जमिनमा सिँचाई गर्ने नहर पहिरोले लगेपछि खेतमा धानको बीउ राख्न समेत नपाईएको स्थानिय हुमाकान्त आचार्यको गुनासो छ । पहिरोले नहर भत्काईदिएपछि करिव ७ लाख बराबरको क्षेति भएको उनले बताए ।
झिमरूक माझिदमारमा मोटरेवल पुल निर्माण भएपछि अर्घाखाँची र प्युठान जिल्लामा आयात निर्यातमा सजिलो हुने छ। ढुवानी आपूर्तिमा सहज बनाउन समयमै पहिरो हटाएर सडक संचालन गर्न स्थानियबासिन्दाले शितगंगा नगरपालीकालाई आग्रह समेत गरेका छन् ।