अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका ग्रामीण सडकमा कालोपत्रे भईरहेका छन्।
अहिले चुत्राबेसीका विभिन्न सडकहरु मसाल बजारदेखि घोचखोला सडक, सन्धिखर्क घोचेखोला किमडाँडा सडक, चुत्राबेसी, धरमपानी मिनिकाेट मैदान हिले सडक, कुर, नुवाकोट सडक, लदाम, तुमकोट सडक, डिभर्ना सल्लीकोट, चुत्राबेसी ग्रीन बोर्डिंग आसपासको सडक लगायतका विभिन्न सडकहरु कालोपत्रे भईरहेका छन्।
तर सबै ठाउँमा निर्माण कम्पनी, ठेकेदारहरुले नाली समेत नकाटी गुणस्तरीयतालाई ध्यानमा नराखी धमाधम सडक कालोपत्रे गरिरहेको स्थानीयले बताएका छन् । सडक पिचसँगै नाली निर्माण तथा सडक स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको देखिदैन।
यहाँ कयौ ठाउँमा कालोपत्रे गरेको एक बर्ष पनि नटिकेको देखिन्छ । त्यसैगरी एक बर्षभित्र गरिएका कालोपत्रे उप्किए वा भत्किएको देखिन्छ ।
कालोपत्रे भएका सडक वर्षौदेखि बर्खामा हिलो र हिउँदमा धुलोबाट ग्रसित र आजित बनेका छन्। करोडौ रकम खर्च गरे पनि गुणस्तरीय काम भने नहुँदा कालोपत्रे गरिएको सडक टिकेको देखिदैन् ।
अर्घाका बिष्णु भुसालले भने; सन्धिखर्कमा कुनै पनि पिच गर्ने सडकको वेस मिलेको छैन । वेस नमिलाएरै धमाधम पिच हुन थालेको छ । पिचको पहिलो, दोस्रो र तेस्रो कोड हान्दा समेत पिचको लेवल मिलेको छैन । पिच गरेको सडक मै खाल्डाखुल्डी रहेको छ भने मोडहरुमा फाइनल कोड समेत उत्रन शुरु गरेको छ।
जनप्रतिनिधी, ठेकेदार र सडक डिभिजन कार्यालयको मिलोमतोमा झारा टार्ने वाहेक गुणस्तरिय काम नभएको उनको दावी छ ।
यस्तै सन्धिखर्कका राजु खनालले भने; जहाँ सुकै होस् सन्धिखर्कमा पिच भएको सडकको समेत लेवेल र वेश मिलेको छैन । चरम लापरबाहीले लामो समय पिचमा गुड्ने, हिड्ने सपना वोकेका स्थानीयको चाहानामा कुठाराघात हुने देखिन्छ । गुणस्तरहिन पिच उप्किन सुरु भएको छ । एक वर्ष सम्म समेत पिच नरहने अवस्था रहेको छ । सडक निकै जोखिमपूर्ण हुदै गएको छ । भैरहेको पिच समेत गुणस्तरीय नभएपछि स्थानिय आक्रोशित भएका छन् ।





