तेञ्जीङ्ग-हिलारी एभरेष्ट म्याराथन दौडमा पोहोर सालका विजेता फुर्बा तामाङले फेरि बाजी

विजेता धावकहरु

सगरमाथा दिवसको अवसरमा शनिबार आयोजित विश्वको सबभन्दा अग्लो ठाउँको सबभन्दा गाह्रो भनिएको तेञ्जीङ्ग-हिलारी एभरेष्ट म्याराथन दौडमा पोहोर सालका विजेता फुर्बा तामाङले फेरि बाजी मारेका छन्।

 

सगरमाथा आधार शिविरबाट नाम्चे बजारसम्मको दौड खोटाङ जिल्ला निवासी २२ वर्षीय फुर्वा तामाङले तीन घण्टा ४१ मिनेट २० सेकेण्डमा पूरा गरे।

दुई वर्षमा भएको लगातार दोस्रो जितपछि बोल्दै उनले अर्को सालपनि जित्ने अठोट सुनाए।


उक्त म्याराथन ५,३६० मीटरको उचाइमा रहेको आधार शिविरबाट शुरु भइ खुम्बु हिम क्षेत्र, सगरमाथा, र ल्होत्से क्षेत्र हुँदै ३,४५० मीटर उचाइमा रहेको नाम्चेमा टुंगिएको थियो।


कठिन


उक्त क्षेत्रमा हिउँका चिप्ला बाटा, लालीगुराँसका जंगल, प्राकृतिक झरना तथा अप्ठेरा पुलहरु पार गर्नु पर्ने भएकाले सो दौडलाई संसारकै सबैभन्दा कठिन मध्ये एकको रुपमा लिइन्छ।


दौडमा विभिन्न १४ मुलुकका १०३ धावकले भाग लिएका थिए।


आयोजक हिमालयन एक्सपिडिसन्सले महिला र विदेशी धावकका लागि बेग्लै पुरस्कारको व्यवस्था गरेको थियो।


महिलाहरुमध्ये सोलुखुम्बुकी आङ फुटि शेर्पा तथा विदेशीहरुमध्ये भारतका श्यामकिशोर सिंह प्रथम भएका थिए।


सगरमाथा सफाइ अभियानको समर्थनमा धावकहरुले आधार शिविरबाट केही फोहोर समेत बोकेर ल्याएका थिए।


सन २००३ देखि वार्षिक रुपमा हुन थालेको यस प्रतियोगितामा हालसम्म विदेशी धावक प्रथम भएका छैनन्।


तेञ्जीङ्ग शेर्पा र एडमण्ड हिलारीले संसारको सबभन्दा अग्लो शिखर सबभन्दा पहिले चढेको सम्झनामा हरेक वर्ष मे २९ का दिन सगरमाथा दिवस मनाइन्छ।


गएको आठ वर्षदेखि सगरमाथा दिवसको अवसरमा उक्त म्याराथन दौड आयोजना गर्न थालिएको हो।