आमा! यो पाली दशैमा आउदिन है

-निरु आचार्य “नवरश्मी”

सधै जसो नयाँ लुगा किन्ने म  
सधैं दशै भनेपछी फुरुङ्ग हुने म 
साथीसङ्गी ,दिदिबहिनीहरुलाई कति 
बेला भेटु भेटु लाग्ने म 
नयाँ लुगा देखाउन छट्पटि हुने म 
खै अहिले त दशै होइन 
दसा आएजस्तै लागेको छ आमा ,
नवदुर्गा  पनि लागिसके 
जमारा त छरेउ होला है आमा 
गाउँमा दाजुभाइले रोटे  पिङ पनि 
बाट्न थाले होलान् 
खेतमा धान झुल्न थाले होलान् 
साइली र माइली खुशी हुँदै सुख दुख साट्दै होलान् 
विदेशबाट लाहुरे दाजुभाइहरु कोसेली  किनेर घर फर्किदै होलान् 
कतिबेला छोराछोरी सहरबाट घर फर्किन्छ्न भनेर हातको पाली लाएर 
बाटो हेरेर बसेकी छौं होला है आमा 
बाबाले मासु खुवाउनुपर्छ 
खसी काटनुपर्छ भनेर खोजीमा लागे होलान् 
रातो माटाे र कमेरोले घर पोतेर 
सन्तानको बाटो हेरेर घर पनि मुस्कुराइरहेको होला 
मेरो लागि अहिले जमरा नछर्नु है 
 आमा 
अहिले आउन पाइन 
नयाँ लुगा किन्न पाइन 
साथीहरूसङ्ग पुर्णिमा मेला हेर्न जान पाइन 
जेरि अनि चटपटे खानलाई 
अर्को साल आउछु नि आमा 
नयाँ लुगा किनेर 
नयाँ उमंग भरेर 
कोरोना अनि यो माहामारीले 
बिछिप्त बनेको यो समाज 
महङ्गीले गगन चुम्न लागेको बेला 
धेरै पैसा  कमाएर 
तिमिलाइ कोसेली पनि लिएर 
आउछु नि है 
अहिले आउन पाइन भनेर 
मलाई लाहुरे नसम्झिनु 
पराय भइ नसम्झिनु 
बैनी आइने भनेर 
दिदिले माया मारी नभन्नु 
दाजुभाइले जन्मघर भुली नभन्नु 
पक्कै आउछु नि अर्को साल 
माहामारी पठाएर 
मन फुरुङ्ग बनाएर 
आशीर्वाद अनि टिका जमरा थाप्नलाई 
मेरो आशीर्वाद सम्हालेर राखिदेउन है आमा थपेर दोब्बर दिनलाई