आयात प्रतिस्थापनको अन्तिम बिकल्प नै उत्पादन

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

-सरस्वती ढकाल 

देश सधैं परनिर्भर हुनुको वास्तविक कारण हो-आफ्नो उत्पादन नहुनु अर्थात् परनिर्भर हुनु । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्स स्वदेशको उत्पादन नहुँदा उपभोग्य वस्तुमै अधिकांश खर्च हुने गरेको छ । रेमिट्यान्सको प्रयोग उद्योग व्यवसाय तथा प्रतिफलयोग्य क्षेत्रमा लगानी हुन नसक्दा पनि आयात व्यापारलाई थप टेवा पुगेको छ ।

नेपालमा पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा चाप बढेसँगै आयात प्रतिबन्धको पक्षमा विभिन्न बहस र पैरवी भइरहेका छन् । केही वस्तुको आयातमा प्रतिबन्ध लगाइँदा समग्र वैदेशिक व्यापारको आकार नै घटिरहेको अवस्था छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा १९.७९ प्रतिशतले वैदेशिक व्यापार घटेको छ । यद्यपि, पुसदेखि आयात प्रतिबन्ध हटाइएकाले यसमा सुधारको सम्भावना भने छ ।

त्यसो त नेपाललाई उद्योग, व्यापार-व्यवसाय गर्नका लागि अत्यधिक सम्भावना भएको देश भन्ने पनि गरिन्छ । बाह्य लगानी आकर्षित गर्न नेपाल सरकार र निजी क्षेत्रले बारम्बार यही भनाइ दोहोर्‍याइरहेका पनि हुन्छन् । नेपालमा लामो समयदेखि व्यवसाय गरिरहेका एकाध बहुराष्ट्रिय कम्पनीहरूको लोभलाग्दो लाभांशलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै कार्यक्रमहरूमा यस्ता भनाइ आइरहेका हुन्छन् । भाषणमा लगानीका लागि उचित गन्तव्य भनिए पनि लगानी प्राथमिकता, नीतिगत सहजता र व्यावसायिक संस्कृतिमा भने नेपाल कमजोर देखिन्छ ।

Nepal Life Insurance

विश्व बैंकले सार्वजनिक गर्ने ‘डुइङ बिजनेस इन्डेक्स’को पुछारमा हुने नेपाल समकालीन देशहरू विकसित राष्ट्रको सूचीमा उक्लिसक्दासमेत ‘एलडिसिज’को सुविधा त्याग्न नसकी लामो समयपछि बल्ल विकासोन्मुख मुलुकको दिशामा अघि बढ्न खोजेको छ । देश सधैं परनिर्भर हुनुको वास्तविक कारण हो-आफ्नो उत्पादन नहुनु अर्थात् परनिर्भर हुनु । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्स स्वदेशको उत्पादन नहुँदा उपभोग्य वस्तुमै अधिकांश खर्च हुने गरेको छ ।

रेमिट्यान्सको प्रयोग उद्योग व्यवसाय तथा प्रतिफलयोग्य क्षेत्रमा लगानी हुन नसक्दा पनि आयात व्यापारलाई थप टेवा पुगेको छ । कुल राष्ट्रिय आम्दानी (जीएनपी) मा रेमिट्यान्सको योगदान २२ प्रतिशत भए पनि प्रतिफलयोग्य क्षेत्रमा यसको उपयोग हुन नसक्दा आयातलाई थप प्रश्रय पुगेको छ । यतिबेला नेपालको अर्थतन्त्र चौतर्फी दबाबमा छ ।

सरकारले आफ्नो आयव्यय विवरण (बजेट) मा राखेको मुद्रास्फीतिको लक्ष्य ६ महिना नहुँदै नाघिसकेको छ भने राजस्व परिचालनमा कमी भएको छ भने बाह्य क्षेत्र झनै दबाबमा छ । यस्तै अवस्था रहिरहने हो भने अबको दुई–तीन महिनामा सरकारले कर्मचारीको तलब खुवाउन पनि सक्ने अवस्था छैन । राष्ट्र बैंकको एक अध्ययनले वर्षभरिमा मूल्यवृद्धि १२ प्रतिशत पुग्ने अनुमान गरेको छ । अहिले नै पनि मूल्यवृद्धि ८ प्रतिशत नाघिसकेको छ । बाह्य क्षेत्रमा बढ्दो दबाब यथावत् नै छ ।

अस्वाभाविक फड्को

नेपालको अर्थतन्त्र क्रमगत रूपमा भन्दा पनि कृषिबाट एकैपटक सेवा क्षेत्रमा हाम फालेको देखिन्छ । विश्वव्यापी अभ्यासहरू हेर्दा सन्तुलित विकास हुन कृषि औद्योगीकरण र सेवामा मोडिएको अर्थतन्त्रलाई दीर्घकालीन मान्ने गरिएको छ । नेपालको औद्यौगीकरणको जग बस्नै पाएन । जसका कारण स्वदेशी उत्पादन हुन सकेन, आयातमै केन्द्रित बन्नुपर्ने अवस्था भइरह्यो । क्रमबद्धभन्दा ‘स्टेपअप’ गरी माथि उक्लिएर गरिएको विकासका कारण उत्पादनका लागि चाहिने कच्चा पदार्थमा सधैं अरू देशसँग निर्भर हुनुपरेको छ ।

औद्योगीकरण, त्यसमा पनि साना–मझौला उद्योगको विकासमा जोड दिए मात्रै ठूला उद्योगहरू सञ्चालन गर्न सकिने हो । वर्तमान अवस्थामा अधिकांश उद्योग परनिर्भर छन् । आफ्नो देशको कच्चा पदार्थ आफ्नै देशको तयारी सामग्री हुन सके उत्पादनमा न्यूनतम पनि २ सय प्रतिशत लाभ पाउन सकिने अवस्था रहेको अर्थशास्त्रीहरू बताउँदै आएका छन् । देशले आफ्नो माग धान्न सक्ने उत्पादन गर्नु नै आजको विश्वमा नेपालजस्तो देशका लागि निकै ठूलो उपलब्धि हो । आफ्नो देशको माग पूरा गर्न सक्दा आयात स्वतः कम हुन्छ ।

अहिले खाद्यान्नसँग सम्बन्धित वस्तु मात्र आयात ४ खर्बको भइरहेको छ । त्यहाँ उत्पादन बढाउन सक्दा अर्थतन्त्रलाई राहत पुग्छ भने रोजगारीका लागि धेरै अवसरहरू खुल्न सक्छन् । कृषिप्रधान देशले वार्षिक खर्बाैंको अन्न आयात गर्नुपरेको छ । आन्तरिक उत्पादन बढाउने भन्ने कुरा कृषि वा खाद्यान्नसँग मात्र सीमित हुँदैन । उत्पादनदेखि उपभोगसम्म जाँदा त्यहाँ धेरै विषय जोडिएर आउँछन् । वितरणका साथै वेयरहाउस, स्थानीय सरकारहरूको भूमिकासमेत आउँछ । उत्पादन बढाउनका लागि वित्तीय पहुँच तथा साधन पनि उत्तिकै महत्वपूर्ण छन् ।

उत्पादनदेखि उपभोगसम्म वितरणदेखि सरकारी लगानीसम्म, पुँजीदेखि ब्याजदरसम्म, भौतिक पूर्वाधारदेखि औद्योगिक विस्तारसम्मको चक्र जोडिन्छ । मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले उपभोग, उत्पादन तथा सरकारी राजस्वको आयातमा बढ्दो निर्भरताले मुलुकको आन्तरिक उत्पादन प्रणाली कमजोर रहेको भन्दै यसले गर्दा दिगो रूपमा आन्तरिक र बाह्य सन्तुलन कायम राख्नु चुनौतीपूर्ण बनेको जनाएको छ ।

“ब्याजदर न्यून राख्दा विदेशी विनिमय सञ्चिति र तरलताको स्थितिमा चाप पर्ने र उच्च राख्दा सरकारी वित्त व्यवस्थापन र उद्योग व्यवसाय प्रभावित हुने स्थिति छ,” केन्द्रीय बैंकको पहिलो त्रैमासिक समीक्षामा उल्लेख छ । आन्तरिक उत्पादन बढाउन बृहत् आर्थिक संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि समीक्षामा उल्लेख छ ।

कसरी बढाउने स्वदेशी वस्तुको खपत ?

स्वदेशी वस्तुको निर्यात बढाउन विदेशस्थित कूटनीतिक नियोग तथा राजदूतावासमा वास्तविक रूपले आर्थिक, कूटनीतिक गतिविधि बढाउन पहल गरिनुपर्छ । साथै, विदेशबाट अनियन्त्रित रूपमा भित्रिने महँगा सामानको नियन्त्रण, भन्सार ठगीमा रोक तथा अवैध व्यापार एवम् आयातमा नियन्त्रण गर्न सकियो भने व्यापारघाटा न्यूनीकरणमा सहज हुन्छ ।

सरकारले वैदेशिक व्यापारमा पारवहनको खर्च न्यूनीकरण उपायमा सरोकारका पक्षबीच समन्वय अघि बढाउने क्रममा हल्दियामा निर्माणाधीन ‘इङ्ल्यान्ड वाटरवेज टर्मिनल’को उपयोग गरिने भएको छ । हल्दिया समुद्री बन्दरगाहनजिकै निर्माण भइरहेको यो संरचनाले नेपालको पारवहनमा सहजता आउनेछ । नेपालले भारतका थप जलमार्ग उपयोग गर्ने समझदारी बनिरहेको अवस्थामा यो संरचना महत्त्वपूर्ण हुन सक्छ ।

यसमा विश्व बैंकको पूर्वाधार विस्तारमा १ सय ४० अर्ब डलरको लगानी रहनेछ । हल्दियामा निर्माण भइरहेको वाटरवेज टर्मिनल उपयोगको विषयलाई पनि जलमार्ग प्रयोगको विषयसँग जोडेर निष्कर्षमा पुर्‍याउने भनिएको थियो । जलमार्गबाट हुने ढुवानी तुलनात्मक रूपमा सस्तो हुने भएकाले समुद्रपार व्यापारमा जलमार्गलाई प्राथमिकतामा राखिँदै आएको हो । भारतले सन् २०१८ मा यी जलमार्ग प्रयोग ल्याइसकेको छ ।

निर्यात बढाउन उत्पादन वृद्धि

व्यापार घटाउन कि त आयात प्रतिस्थापन गर्नुपर्ने हुन्छ, कि त देशको निर्यात बढाउनुपर्ने हुन्छ । तर, पाँच वर्षयता उद्योगको वृद्धिदर ३ प्रतिशतभन्दा कम छ । न्यून उत्पादन, दैनिक उपभोगदेखि विलासितासम्मका वस्तुहरू र रेमिट्यान्सले बढाएको उपभोगका कारण व्यापारघाटा चुलिँदै गएको छ । उदारीकरण भन्दैमा गुणस्तरहीन विदेशी वस्तुमा रमाई देशमा अन्धाधुन्ध आयात भइरहेका कारण नेपालको व्यापारघाटा बढ्दै गएको हो ।

यस्तै स्वदेशी वस्तुका लागि चाहिने कच्चा पदार्थको देशमा अभाव हुनु, बढी मूल्य अभिवृद्धि हुने वस्तुको विदेशमा खोज नभएको, वस्तु गुुणस्तर तथा प्रमाणीकरणको अभाव र अरू यस्तै थुप्रै कारणले नेपालको व्यापारघाटा बढेर गएको छ । देशमा गुणस्तरीय परीक्षण प्रयोगशालाको विकास गरी गुणस्तरहीन विदेशी सामानलाई प्रतिबन्ध गर्नु अहिले नितान्त आवश्यक छ ।

पेट्रोलियम पदार्थ, इलेक्ट्रोनिक्स, अटोमोबाइल, गरगहना, कस्मेटिकलगायतको आयात ह्वात्तै बढेको छ । लोडसेडिङका कारण औद्योगिक क्षेत्र तथा घरेलु काममा पेट्रोलियम पदार्थको उपभोगमा बढ्दै गएको प्रवृत्ति तथा ब्याट्रीदेखि इन्भर्टरसम्मका वस्तुको माग बढ्दै गएकाले र फलाम-स्टिलका वस्तुको आयात, बहुमूल्य पत्थरको आयात, घिउ-तेल-खाद्यान्न, औषधिलगायतका वस्तुको आयात ह्वात्तै बढ्दै गएको छ । नेपालको भारतबाट मात्र आयात नेपालको कुल आयातको ६५ प्रतिशतभन्दा बढी छ ।

यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा व्यापाघाटा दिनप्रतिदिन बढ्दो अवस्थामा भएकाले स्वदेशी वस्तुको निर्यात बढाउनु नै उपयुक्त उपाय भएको बताउँछिन् । यसका लागि सरकारले निर्यात अनुदानलाई प्रभावकारी र सरलीकरण गुर्नपर्छ । निर्यातमा उल्लेख्य योगदान दिने र उच्च मूल्य अभिवृद्धि गर्न सक्ने उत्पादनलाई प्रोत्साहन दिने गरी नीतिगत व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो ।

खुम्चिँदै निर्यातको हिस्सा

चालू आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक व्यापारका सबै सूचकांकमा गिरावट आएको छ भने कुल व्यापारमा निर्यातको हिस्सा उल्लेख्य रूपले घटेको छ । अघिल्लो आवमा निर्यातको हिस्सा दोहोरो अंकमा रहे पनि यस वर्ष पुनः एकल अंकमा झरेको छ । अघिल्लो आवको कात्तिकसम्मको अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ११.२१ प्रतिशत रहेकोमा चालू आवको कात्तिकसम्म भने ९.३२ प्रतिशतमा सीमित भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म ५ खर्ब ८७ अर्ब ४६ करोड ६५ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएकोमा निर्यात भने ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँमा सीमित छ । यस्तै, सो अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ । आयात, निर्यात दुवैमा कमी आएसँगै व्यापारघाटामा पनि उल्लेख्य कमी आएको हो ।

निर्यात व्यापारमा सबैभन्दा बढी ३३.३ प्रतिशतले कमी आएको छ भने आयात १८.०८ प्रतिशत तथा कुल व्यापारघाटामा १५.८८ प्रतिशतले कमी आएको छ । विभागमा अनुसार अघिल्लो कात्तिकसम्म ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो भने यस वर्ष १९.७९ प्रतिशतले घटेको छ । चार महिनामा सबैभन्दा बढी डिजेल ४४ अर्ब २८ करोड, पेट्रोल २३ अर्ब ६९ करोड, एलपी ग्यास १९ अर्ब ६४ करोड र हवाई इन्धन ७ अर्ब ४५ करोड रुपैयाँबराबरको भित्रिएको छ ।

विभागका अनुसार डिजेल आयातबाट १४ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ, पेट्रोल आयातबाट १२ अर्ब ७५ करोड १३ लाख रुपैयाँ, एलपी ग्यासबाट ३ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ तथा एटीएफ आयातबाट १ अर्ब ११ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो अवधिमा २ अर्ब २ करोड रुपैयाँको बिटुमिन आयात भएको छ । समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.६८ प्रतिशत र निर्यात ९.३२ प्रतिशत मात्रै छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा आयातको हिस्सा ८८.७९ र निर्यातको हिस्सा ११.२१ प्रतिशत थियो ।

साना, मझौला उद्योगमा लुकेको रोजगारी

लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) सीमित स्रोतबाट सञ्चालित तर अर्थतन्त्रलाई चलायमान बनाउने उद्यम हुन् । एमएसएमईहरूलाई पुँजी लगानी, वार्षिक बिक्री, सम्पत्ति, कर्मचारी आदिका आधारमा परिभाषित गर्ने गरिएको छ ।

विश्व बैंकले गरेको एक अध्ययनका अनुसार औपचारिक रूपमा (दर्ता भएको) घरेलु तथा साना उद्योगहरूले कुल रोजगारीको ६० प्रतिशत, नयाँ औपचारिक रोजगारी सिर्जनाको ८० प्रतिशत र उदीयमान अर्थतन्त्रमा राष्ट्रिय आय (कुल गार्हस्थ्य उत्पादन) को ४० प्रतिशतसम्म योगदान गर्ने उल्लेख छ । नेपालको अर्थतन्त्रमा यस्ता उद्योगले करिब २२ प्रतिशत योगदान पुर्‍याएको र २० लाखलाई रोजगारी दिइरहेको आकलन गरिएको छ ।कारोबारले उल्लेख गरेको छ।